धनगढी- धनगढीमा ग्रेडरले कुल्चिएर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा हसनपुरस्थित पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत तारानगर बस्ने अन्दाजी १४ वर्षीया चेतना साउँद रहेकी प्रहरीले बताएको छ ।
बिहीबार उपमहानगरपालिका–५ हसनपुर पिपलचौतारा नजिक पानीपिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा साइकलयात्री साउँदलाई कुल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
चालक चितवन भरतपुर महानगरपालिका– २८ बस्ने २७ वर्षीय विमल कुमाललाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । साउँदको शव घटनास्थलमा नै रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । यस्तै छात्रा चेतना साउदको मृत्युपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् ।
उक्त विद्यालयका विद्यार्थीहरुले आन्दोलन गर्दै धनगढी–स्याउले सडक अवरुद्ध पारेका हुन् । उनीहरुले टायर जलाउँदै सडक अवरुद्ध पारेका हुन्।
आज बिहान धनगढी उपमहानगरपालिका–५ तारानगरकी चेतना साउद हसनपुर पिपलचौतारा नजिक पानिपिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा कुल्चिएर मृत्यु भएको थियो।