Sagun Khabar
डडेल्धुरामा देउवा सातौं पटक निर्वाचित 

डडेल्धुरा – डडेलधुरामा प्रतिनिधिसभातर्फ प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी भएका छन् । 

कुल ५१ हजार २०३ मत गणना हुँदा देउवा २५ हजार ५३४ मतका साथ विजयी भएका हुन् । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गरे । अर्का उम्मेदवार नेपाली कांग्रेस वीपीका कर्णबहादुर मल्लले ७ हजार ५३५ मत ल्याए । 

Atrya hospital

देउवा २००३ साल जेठ ३१ गते डडेल्धुराको असिग्राम गाविस—५ मटेला, रुवाखोलामा जन्मिएका हुन् । २०१७ सालदेखि राजनीतिमा लागेका देउवा कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको पहिलो निर्वाचित अध्यक्ष समेत हुनुहुन्छ । २०४८ सालको आमचुनावमा देउवा डडेल्धुराबाट विजयी भएका थिए । । देउवाले २०५१ र २०५६ सालको संसदीय चुनाव, २०६४ र २०७० सालको संविधानसभा चुनाव तथा २०७४ सालको संसदीय चुनावमा डडेल्धुराबाट जितेका थिए । 

पार्टीभित्रको अन्तरसंघर्ष चर्किएपछि देउवाले २०५९ सालमा कांग्रेस पार्टी फुटाएर नेपाली नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरे र त्यसको सभापति समेत भए । २०६४ सालमा फेरि कांग्रेस एक भयो । पार्टी एक भएपछि कांग्रेसको नेतृत्वको आकांक्षी रहे पनि उनी सुशील कोइरालासँग पराजित भए । २०७२ फागुनमा भने रामचन्द्र पौडेललाई हराएर देउवा कांग्रेसको सभापति बने । २०७८ सालमा भएको कांग्रेसको १४ महाधिवेशनबाट शेखर कोइरालालाई हराएर उहाँ फेरि कांग्रेसको सभापति बनेका हुन । 

देउवा ५ पटक प्रधानमन्त्री भइसकेका छन् । २०५२ साल भदौ २६ गते देउवा राप्रपा लगायत दलसँगको सहकार्यमा पहिलोपटक प्रधानमन्त्रीका रुपमा डेब्यु गरे । २०५३ साल फागुन २६ गते प्रधानमन्त्रीबाट हटेका देउवा २०५८ साल साउन ७ गते दोश्रो पटक प्रधानमन्त्री बने । तेस्रोपटक ०६१ साल जेठ २१ गते उनी प्रधानमन्त्री बने ।

यस्तै २०७४ सालको जेठ २३ गते माओवादीको समर्थनमा देउवा चौथोपटक प्रधानमन्त्री भए  । २०७८ जेठ ७ मा केपी शर्मा ओली नेतृत्वको मन्त्रीमण्डलले प्रतिनिधि सभा बिघटनका लागि सिफारिस गरेपछि १ सय ४९ सांसदले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरियोस् भनेर सर्वोच्च अदालतमा रिट दायर गरे । त्यसपछि सर्वोच्चको परमादेशअनुसार २०७८ असार २९ गते देउवा पाँचौं पटक प्रधानमन्त्री बनेका हुन् । राजनीतिमा सफल मानिएका देउवालाई ज्योतिषले सात पटक प्रधानमन्त्री बन्ने भनेको कुरा खुब चर्चामा आउने गरेको छ । 
 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ०६:०१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update