Sagun Khabar
आक्रमणको  आक्रोसले  दार्चुलामा सत्ता गठबन्धनद्वारा सडक अवरुद्ध 

दार्चुला-दार्चुलामा नेकपा एमालेका कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको भन्दै सत्तारुढ गठबन्धनमा आवद्ध दलका कार्यकर्ताले सडक बन्द गरेका छन्। जिल्लाको गोकुलेश्वर–खार खलंगा सडकको धुलीगडा क्षेत्रमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसमा आवद्ध कार्यकर्ताहरुले हिजो (आइतबार) रातिदेखि सडक अवरुद्ध पारेका हुन्।

हिजो नौगाड गाउँपालिका–६ खेडमा प्रचारप्रसारमा खटिएको गठबन्धनको टोली र नौगाडको जामिरमा आयोजित आमसभामा गइरहेको एमाले कायकर्ताको टोलीबीच झडप भएको थियो। गठबन्धनका कार्यकर्ताले झडपमा संलग्न एमाले कार्यकर्तालाई पक्राउ नगरेसम्म सडक नखुलाउने अडान राखेका छन्।

Atrya hospital

उनीहरु रातिदेखि निरन्तर सडक अवरुद्ध पारेर बसेका छन्। गठबन्धनले जिल्लाभरका कार्यकर्तालाई धुलीगडा खेडा क्षेत्रमा उतारेर सडकमा चक्काजाम गरेको एमाले दार्चुलाले आरोप लगाएको छ। एमाले नौगाड गाउँपालिकाका अध्यक्ष जनकसिंह ठगुन्नाका अनुसार गठबन्धनमा आवद्ध दलका कार्यकर्ताले सडक बन्द गरेपछि नौगाडमा भएको एमालेको चुनावी सभामा गएका कार्यकर्ता तथा स्थानीय सर्वसाधारणहरु घर फर्कन सकिरहेका छैनन्।

कार्यक्रममा लागि गएका कलाकार र स्थानीय कार्यकर्तासहितको टोली होपरीगाड जामिर क्षेत्रमै अड्किएको छ । यता, गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्र दार्चुलाले भने एमालेका कार्यकर्ताले आफ्ना कार्यकर्ताहरुमाथि घरमै गएरसमेत कुटपिट गरेको दाबी गरेको छ।

कुटपिटमा संलग्न एमाले कार्यकर्तालाई कारबाही गरिनुपर्ने गठबन्धनको माग छ। यस्तै, दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भने सुरक्षा बैठक राखेर सडक खुलाउने प्रयास भइरहेको बताएका छन्। हिजोदेखि सडक खुलाउने प्रयास भइरहेकोमा गठबन्धनले नमानेका कारण अहिले पनि प्रयास जारी रहेको उनको भनाइ छ।

प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  १४:५५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update