Sagun Khabar
डोटीमा भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु, भूकम्पका कारण धेरै घरमा क्षति 

डोटी –डोटीमा भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ भने धेरै धनजनको क्षति भएको छ । बुधबार राति २ बजेर १२ मिनेटमा गएको भूकम्पले पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा ८ घर भत्किदा ६ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा एकै घरका तीन जना रहेका छन् । भूकम्पले घर भत्किँदा पूर्वीचौकी गाउँपालिका ३ का भगवतीदेवि बोहरा, उनका ७ वर्षीय छोरा हर्क बोहरा, उनकै  १४ वर्षीया छोरी सीता बोहराको मृत्यु भएको छ । यस्तै सोही ठाउँका प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

Atrya hospital

यस्तै गाउँपालिकाकै उपरकाँडा र बलकट्टेका १५० भन्दा बढी घरमा आंशिक तथा केही घरमा पूर्ण क्षति भएको स्थानीय मिनबहादुर साउँदले बताए । जिल्ला प्रशासन कार्यालय डोटीकी सूचना अधिकारी दीपा जोशीका अनुसार सायल गाउँपालिकाका अधिकांश घरमा क्षती भएको छ । अन्य ठाउँमा पनि क्षति भएको र क्षतिको यकिन विवरण आउँन बाँकी रहेको उनले बताइन् । 

राति भूकम्प गएपछि स्थानीयहरुले चौरमा रात बिताएका थिए । भूकम्पको त्रासका कारण स्थानीयहरु घर बाहिर निस्केर चौरमा रात बिताएका हुन् । 

डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर ६ दशमलव ६ म्याग्नीच्युडको भूकम्प गएको थियो । भूकम्पको धक्का बैतडी सहित सुदूरपश्चिमका सबै जिल्लामा महशुस गरिएको थियो । राति ठूलो भूकम्प जानु अघि पटक पटक भूकम्पको धक्का महसुस भएको थियो । 

यसैबीच भूकम्पका कारण बैतडीमा क्षति भएको विवरण अहिले सम्म प्राप्त नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भूकम्पको धक्का बैतडीमा पनि महसुस गरिएको थियो । जिल्लामा भूकम्पका कारण क्षति भएको विवरण अहिले सम्म नआएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  ०७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update