डोटी –डोटीमा भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ । बुधबार राति २ बजेर १२ मिनेटमा गएको भूकम्पले पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा ८ घर भत्किदा ६ जनाको मृत्यु भएको हो ।
भूकम्पमा परी सोही ठाउँका पदम बोहराको घर भत्किदा उनकी श्रीमती भगवतीदेवि बोहरा, उनको छोरा ७ वर्षीय हर्क बोहरा, उनकै छोरी १४ वर्षीय सीता बोहराको मृत्यु भएको छ । यस्तै सोही ठाउँका प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले बताए ।
यस्तै वेपत्ता २ जनाको भने सकुुशल उद्धार गरीएको उनले बताए । डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पमा परी पूर्वीचौकी गाउँपालिका ३ अधिकांस घर चर्किएका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । यसअघि मंगलबार राति ९बजेर ७ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर ५ दशमलव ७ म्याग्नीच्यूडको भूकम्प गएको थियो । सुदूरपश्चिमका सबै जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।
भूकम्पमा परी ५ जना घाइते भएका छन् । घाइते हुनेमा ४५ वर्षीय महाविर बोहरा, ४० वर्षीय इन्नरी बोहरा, ४५ वर्षीया बिस्नादेवी बोहरा, ४६वर्षीय चनादेवी बोहरा र ११ वर्षीया धौली बोहरा छन्। घाइतेको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ । भूकम्पले घर चर्किएकाले स्थानीयले चौरमा बसेर रात बिताएका छन् ।