डडेल्धुरा –सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिकस्थल उग्रतारामा भोलि देहीजात लाग्ने भएको छ । डडेल्धुरास्थित सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला ‘देहिजात’ कार्तिक २३ गते लाग्ने भएको हो ।
हरेक वर्ष कार्तिक शुक्लपक्ष पुर्णिमाको राति (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्ने गरेको छ । हजारौ दर्शनार्थी तथा भक्तजनहरु सहभागी हुने जात्रालाई स्थानीय भाषामा देहिजात भन्ने गरिएको छ ।
जिल्ला सदरमुकामबाट चार किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को महाकाली राजमार्गसँगै सुन्दर डाँडामा अवस्थित महाशक्ति पीठ उग्रतारा भगवतीको मन्दिरमा प्रत्येक बर्ष कार्तिक शुक्लपक्ष पुर्णिमाका दिन ठुलो मेला लाग्ने गरेको छ । यहाँका चार गाउँ छचोडा, खनमडा, दुमडा र जिलोडामा रहेका भण्डार घरबाट मन्दिरमा भण्डार ल्याउने चलन रही आएको छ ।
देहिजातको रूपमा मानिने उग्रतारा भगवती मेलामा सुदूरपश्चिम प्रदेश, कर्णाली तथा छिमेकी देश भारतबाट समेत हजारौँको संख्यामा श्रद्धालु भक्तजन हरेक वर्ष पुग्ने गरेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिए ।