दार्चुला – प्रतिनिधि सभा सदस्य उम्मेदवार एवं उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दिलेन्द्र प्रसाद बडूले संविधान र व्यवस्थाको रक्षाका लागि गठबन्धनको जित आवश्यक रहेको बताएका छन् । लोकतान्त्रिक बाम गठबन्धनद्धारा शैल्यशिखर नगपालिका–१ बलाचमा आयोजित चुनावी कोणसभालाई आइतबार सम्बोधन गर्ने क्रममा मन्त्री बडूले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक संसद विघटन गरेकाले यो चुनावमा गठबन्धन हारे संविधान र व्यवस्था खतरामा पर्ने बताएका हुन् ।
ओलीको हातबाट संविधान र राजनीतिक प्रणाली अझैपनि खतरामा रहेको मन्त्री बडूको दाबी छ । मन्त्री बडूले संविधानको रक्षाका लागि अहिलेको गठबन्धन भएको बताए ।
चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री बडूले निर्वाचन आउँदा मात्रै केपी ओलीको राष्ट्रावाद देखिने गरेको आरोप लगाए । यस्तै मन्त्री बडूले आफ्ना प्रतिस्पर्धी एमालेका उम्मेदवार गणेशसिंह ठगुन्नालाई दार्चुलेली जनताले संसद विघटन गर्ने केपी ओलीको किन साथ दिएको भनेर प्रश्न गर्नुपर्ने बताएका छन् ।
यसैबीच शैल्यशिखर नगरपालिका–२ देथलामा आयोजित चुनावी सभामा ५० जना एमाले कार्यकर्ता काँग्रेस प्रवेश गरेका छन्। नेकपा एमाले शैल्यशिखर नगर कमिटी सचिव उत्तमबहादुर लगायतका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका बताइएको छ ।