डडेल्धुरा – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन वर्तमान संविधानको रक्षाका लागि निर्माण भएको बताएका छन् । आज आइतवार डडेल्धुराको आलिताल गाउँपालिकामा आयोजित चुनावी सभामा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले तत्कालीन प्रधानमन्त्री केपी ओलीले आफ्नो लहडमा पटक–पटक संसद् विघटन गरेकाले संविधानको रक्षाका लागि गठबन्धनका सबै नेता मिलेर आफूलाई प्रधानमन्त्री बनाएको प्रसङ्ग उल्लेख गरे । गठबन्धन सफलताका साथ अघि बढीरहेको समेत उनले बताए ।
चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धन विजयी भएमात्रै लोकतान्त्रिक गणतन्त्र र समावेशी राजनीतिलाई बचाउन सकिने बताए । वर्तमान अवस्थामा बिग्रेको राजनीति बचाउन प्रतिनिधि सभा र प्रदेश सभामा गठबन्धन विजयी हुन आवश्यक रहेको उनको भनाइ छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई पटक संसद् विघटन गरेपछि गठबन्धन बनेको प्रधानमन्त्री देउवाको भनाइ थियो । डडेल्धुराका नागरिकले मत दिएर सहयोग गरेर आफू पाँच पटक देशको प्रधानमन्त्री भइसकेको बताउँदै देउवाले आलिताल भित्रि–मधेसको विकास, सडक पूर्वाधार निर्माण र तटबन्ध निर्माणका लागि सरकारले काम गर्ने बताए ।
परिगाउँ क्षेत्रमा महाकाली नदीमा पुल बनाउने बिषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग कुराकानी समेत भएको उनले दाबी गरे । प्रधानमन्त्री देउवाले आजै डडेल्धुराको जोगबुढामा समेत चुनावी सभालाई सम्बोधन गरेका छन् ।