बैतडी- प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन १०–१५ वर्षसम्म हुनुपर्ने आफ्नो मान्यता रहेको बताएका छन् । डडेलधुरामा पहिलो चुनावी सभालाई बिहीबार सम्बोधन गर्दै देउवाले समृद्धि र आर्थिक विकासका लागि राजनीतिक स्थायित्व आवश्यक भएकाले पनि गठबन्धनको राजनीतिले निरन्तरता पाउनुपर्ने बताएका हुन् ।
राजनैतिक पद्धति र विकासलाई संस्थागत रुपमा विकास गर्न पनि गठबन्धन आवश्यक भएको प्रधानमन्त्री देउवाको भनाइ थियो । स्थानी तह निर्वाचनपछि पहिलो पटक आफ्नो चुनावी क्षेत्रमा पुगेका प्रधानमन्त्री देउवाले सीमा समस्या दुई देशबीच हुने मित्रवत व्यवहारले मात्र समाधान हुन सक्ने बताए ।
राजनैतिक नाफा, घाटाका लागि अनावश्यक रुपमा सीमाजस्तो संवेदनशील विषयलाई मुद्दा बनाउनु उचित नभएको पनि देउवाले बताए । चुनावी सभामा देउवाले सुदूरपश्चिमको पर्यटन विकासका लागि आफूले सक्दो प्रयास गर्ने आश्वासन मतदातालाई दिए । देउवाले गठबन्धनले जितेपछि राजनीतिले स्थायित्व पाउने र विकास पनि सम्भव हुने भएकाले सहयोग गर्न मतदातालाई आग्रह गरेका छन्।
सातौं पटक प्रतिनिधिसभाको उम्मदेवारी दिएपछि देउवा पहिलो पटक डडेलधुरा आइपुगेका हुन् । उनीसँगै चुनावी प्रचारप्रसारका लागि कांग्रेस केन्द्रीय सदस्य आरजु देउवा, केन्द्रीय सदस्य नैनसिंह महर, सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्द बोहरालगायत नेताहरु छन् ।