डडेल्धुरा –प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृह जिल्ला डडेल्धुराका ७ चुनावी आमसभालाई सम्बोधन गर्ने भएका छन् । उनी कात्तिक १७ गतेदेखि २० गतेसम्म आफ्नो चुनावी क्षेत्रमा हुने कार्यक्रममा सहभागी हुने भएका हुन् । बिहीबार देउवा डडेल्धुरा पुग्ने कार्यक्रम रहेको छ ।
देउवाले ४ दिनमा लोकतान्त्रिक –वाम गठबन्धन डडेल्धुराले जिल्लाका सातवटै स्थानीय तहमा आयोजना गर्ने सभालाई सम्बोधन गर्ने तालिका रहेको छ ।
देउवा १७ गते डडेल्धुरा सदरमुकाम अमरगढीमा हुने कार्यक्रममा सहभागी हुनेछन् भने १८ गते नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिका, १९ गते अजयमेरु गाउँपालिका र भागेश्वर गाउँपालिका, २० गते आलिताल गाउँपालिका र परशुराम नगरपालिकाको कार्यक्रममा सहभागी हुनेछन् ।
देउवासँगै ती चुनावी आमसभालाई प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेदवार खगराज भट्ट र प्रदेशसभा २ का उम्मेदवार गोविन्दराज बोहराले पनि सम्बोधन गर्ने जनाइएको छ ।