Sagun Khabar
दार्चुला घटना : गल्ती भएको भारतीय पक्षद्वारा स्वीकार, पीडित परिवारलाई क्षतिपूर्ती दिइने

दार्चुला –सडक निर्माणका क्रममा दार्चुलाको व्याँस गाउँपालिका–२ मा शुक्रबार एक जना नेपाली बालकको मृत्यु भएको घटनामा आफ्नो गल्ती भएको भारतीय पक्षले स्वीकार गरेको छ ।

पीडित परिवार र स्थानीय तहका जनप्रतिनिधिसंगको छलफलका क्रममा शनिबार भारतीय पक्षले गल्ती स्वीकार गरेको व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले बताए । भारतीय पक्षले गल्ती स्वीकार गर्दै क्षतिपूर्ती दिन तयार रहेको उनले बताए । उनले भने ‘हामीले आज भारतीय पक्षसंग छलफल गर्यौं । पीडित परिवारलाई नगद कति दिने भन्ने बिषयमा सहमति भएको छैन् । पीडित परिवारका बालबालिकालाई कक्षा १२ सम्म पढाइदिने र पीडित परिवारका एकजनालाई रोजगारी दिने भन्ने सहमति भएको छ । अहिले पनि हामी छलफलमै रहेका छौं ।’

Atrya hospital

गर्ग एण्ड गर्ग कम्पनीले सडक निर्माणका लागि जिलेटिन बिस्फोट गर्दा उछिट्टिएको ढुंगाले दार्चुलाको व्याँस गाउँपालिका २ का पवन महराको मृत्यु भएको थियो । पीडित परिवारले उचित क्षतिपूर्ती दिनेपर्ने माग गरेको अध्यक्ष धामीले बताए । 

महाकाली नदीपारि भारतले तावाघाट–लिपुलेक सडक फराकिलो गर्ने क्रममा उक्त कम्पनीले विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर बालकको मृत्यु भएको थियो । 

घटना पछि शनिबार पीडित परिवारलाई लिएर दार्चुलाका जनप्रतिनिधिको टोली छलफलका लागि भारतको धार्चुला गएको थियो । अन्तराष्ट्रिय सीमा क्षेत्रमा बिना सूचना विष्फोट गराएर ज्यादती हुने गरेकोले यथाशीघ्र यस्तो गतिविधि रोक्नु पर्ने उनीहरुले भारतीय पक्षलाई आग्रह गरेका छन् । 

भारतीय पक्षले अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा आफूखुसी संरचना निर्माण गर्दा नेपाल तर्फका नागरिकले दुःख पाउँदै आएका छन् । सडक निर्माणका क्रममा गरिएका विस्फोटले नेपाली भू–भाग तर्फ हिड्ने बाटोमा समेत अवरोध भएको बिषयमा भारतीय पक्षलाई जानकारी गराएको अध्यक्ष धामीले बताए । 

भारतीय पक्षले कुनै जानकारी नदिइ जिलेटिन विस्फोट गराउँदा बालकको अकालमै ज्यान गएकाले यस्ता घटना हुन नदिन सचेत हुनुपर्नेमा भारतीय पक्षलाई आग्रह गरिएको समेत अध्यक्ष धामीले बताए । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक १२, २०७९  १७:२५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update