Sagun Khabar
तिहारको मुखमा बझाङको मष्टा शोकमा डुब्यो, जिप दुर्घटनामा ८ जनाको मृत्यु 

बझाङ – बझाङमा बुधबार जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । गम्भीर घाइते ५० बर्षीया सिन्किदेवी भण्डारीको उपचारका लागि धनगढी लैजाँदै गर्दा बझाङको केदारस्युँ ४ बाग्थलमा मृत्यु भएपछि मृतक संख्या ८ पुगेको हो । 

सो दुर्घटनामा परेर १५ जना घाइते भएका छन् । सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका–२ खेतकोट जाँदै गरेको सुपप्र ०१ ००१ च ११७ नम्बरको जिप बुधबार अपराह्न ४ बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो । अन्य २ जनाको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो ।  दुर्घटनामा घाइतेमध्ये धेरैजसो महिला र बालबालिका रहेका छन् । 

Atrya hospital

दुर्घटनामा मृत्यु हुनेमा मष्टा गाँउपालिका–२ खेतकोटका १३ वर्षीया सम्झाना खड्का, १५ वर्षीय रोशन खड्का, २८ वर्षीया वसन्ती धामी, १३ वर्षीय प्रचण्ड खड्का, ३८ वर्षीय विरेन्द्र अधिकारी, ७ महिनाकी बालिका दक्षिता कठायत, ५० बर्षीया सिन्कीदेवी भण्डारी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका घर भएका ४२ वर्षीय झरेन्द्र बोहरा रहेका छन् । 

जिल्ला सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्किँदै गरेका यात्रु चढेको जिप दुर्घटनामा परेको हो । कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोक्दा  दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाई छ । जिप सडकबाट ५ सय मिटर तल खोल्सामा खसेको थियो । 

एकै गाउँपालिकाका ८ जनाको दुर्घटनामा परेर मृत्यु भएपछि अहिले मष्टा गाउँपालिका शोकमा डुबेको छ । गाउँमा रुवाबासी चलेको स्थानीयहरुले बताए । यसअघि २०७६ साल असार २ गते पनि सोही सडकखण्ड अन्तर्गत डौठी भन्ने ठाँउमा जिप दुर्घटना हुँदा १० जनाले ज्यान गुमाएका थिए ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update