बझाङ –बझाङको मष्टा गाउँपालिकामा बुधबार दिउँसो जिप दुर्घटना हुँदा घाइते भएका १३ जनाको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ । घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।
मष्टा गाउँपालिकाको डुङ्ग्रीबाट गाउँपालिकातर्फ गइरहेको जिप बुधबार दिउँसो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये ४ जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा मष्टा गाँउपालिका वडा नं २ खेतकोटकी १३ वर्षीया सम्झाना खड्का, सोही ठाँउका १५ वर्षीय रोशन खड्का, २८ वर्षीया बसन्ती धामी र अर्का एकजना ११ वर्षीय प्रचण्ड खड्काको सनाखत भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए ।
बुधबार अपराह्न ४ बजे सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका– २, खेतकोट जाँदै गरेको सु.प.प्र ०१–००१ च ११७ नम्बरको जिप दुर्घटना भएको हो ।
जिप सडकबाट करिब दुई सय मिटर तल खोल्सामा खसेर क्षतिग्रस्त भएको थियो । दुर्घटनामा घाइतेमध्ये धेरैजसो महिला र बालबालिका रहेका छन् ।