बझाङ – बझाङमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । मष्टा गाउँपालिकाको डुङ्ग्रीबाट गाउँपालिकातर्फ गइरहेको जिप बुधबार दिउँसो दुर्घटना भएको हो ।
सुपप्र ०१–००१ ज ११७ नम्बरको जिप दुर्घटना हुँदा अहिलेसम्म ६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । अहिले सम्म ६ जनाको शव भेटिएको बझाङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीले बताए ।
घाइतेहरुलाई अस्पताल पठाइरहेको र विस्तृत विवरण आउन केही समय लाग्ने उनले बताए । मृतक र घाइतेहरुको पहिचान भने खुलेको छैन ।
दुर्घटनामा परेको जिप टुक्राटुक्रा भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए । अहिले पनि प्रहरी र स्थानीयहरुले घाइतेहरुको उद्दार गरिरहेका छन् । उक्त जिप जिल्ला सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्किँदै थियो । जिप सडकबाट २ सय मिटर तल खसेर भीरमा अड्किएको छ ।