धनगढी- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो उम्मेदवारीविरुद्ध परेको उजुरीको जवाफ पठाएका छन्। देउवाले मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पत्नी डा. आरजु राणा देउवामार्फत उजुरीको जवाफ बुझाएका हुन्।
‘बिहान साढे ११ बजे प्रधानमन्त्रीले पठाउनु भएको जवाफ कार्यालयमा दर्ता भएको छ। जवाफ हेरेर बेलुकी ५ बजेसम्म निर्णय लिने वाग्ले बताए । उमेदवारविरुद्ध परेका उजुरीको निर्णय निर्वाचन अधिकृतले नै गर्न पाउने कानुनी व्यवस्था छ।
देउवाको नागरिकता र मतदाता नामावलीमा जन्ममिति फरक-फरक भएको भन्दै एउटामात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट उमेदवारी दिएका देउवाको उमेदवारी रद्द गर्नुपर्ने माग गर्दै विपक्षी उम्मेदवार नेपाली कांग्रेस (बीपी) का कर्णबहादुर मल्लले उजुरी दिएका थिए।
डडेल्धुराबाट उम्मेदवारी दिएका देउवाको मनोनयनविरुद्ध सोमबार निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो। नागरिकतामा देउवाको जन्ममिति विसं २००३ साल जेठ ३१ गते र मतदाता नामावलीमा जन्ममिति २००२ साल जेठ ३१ गते रहेको पाइएको छ।
निर्वाचन आयोगले अस्ति उम्मेदवारी मनोनयन गरेका उम्मेदवारविरुद्ध हिजो १० देखि ३ बजेसम्म दाबी विरोधको समय तोकेको थियो। देउवाको नागरिकतामा जन्ममिति विक्रम सम्वत् २००३ जेठ ३१ रहेको छ भने मतदाता नामावलीमा २००२ जेठ ३१ गते उल्लेख रहेको खुलेको छ। देउवा सातौंपटक डडेल्धुरा निर्वाचन लड्दै छन्।