धनगढी- कैलालीमा प्रहरीमाथि हातपात भएको छ। जिल्लाको जानकी गाउँपालिकास्थित वडा नम्बर ३ मा हिजो (बुधबार) राति ११ बजेतिर प्रहरीमाथि हातपात भएको हो।
सो क्षेत्रमा रात अबेरसम्म दसैंको रात्रिकालीन सांस्कृतिक कार्यक्रम चलिरहेको जानकारीपछि प्रहरीहरु पुगेका थिए। त्यहाँ पुगेर उक्त कार्यक्रम बन्द गर्न भनेपछि स्थानीय र प्रहरीबीच झडप भएको बताइएको छ। जानकी गाउँपालिकाको लायकपुर शिविरमा जिल्ला प्रशासन कार्यालयको अनुमति बिना कार्यक्रम चलिरहेको थियो।
यस्तै प्रहरीले जवानमाथि कुटपिटको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। जानकी गाउँपालिकास्थित वडा नम्बर ३ का लक्ष्मण चौधरी, आशाराम चौधरी र राम चौधरीलाई पक्राउ गरिएको हो। उनीहरुलाई समातेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यता, स्थानीयले भने कुटपिट नभएको र प्रहरीले निर्दोषलाई समातेर लगेको बताएका छन्। टीकापुरसहित वरपरको क्षेत्र संवेदनशील भएकोले दसैंका कार्यक्रम गर्दा अनुमति लिनुपर्नेमा नलिइ गरेकोले त्यहाँ प्रहरी खटाइएको थियो।