Sagun Khabar
रेडक्रसले हस्तान्तरण गर्यो स्वास्थ्य सामग्री 

बैतडी –बैतडीमा नेपाल रेडक्रस सोसाइटीले जिल्ला विपद् व्यवस्थापन समितिलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । चाइना रेडक्रसको सहयोगमा प्राप्त भएका विभिन्न स्वास्थ्य सामग्री नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेश समितिका तर्फबाट जिल्ला विपद् व्यवस्थापनलाई हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेश समितिका उपमहासचिव तेजप्रकाश भट्टले बताए । 

जिल्ला विपद् व्यवस्थापन समितिलाई १० हजार थान मास्क, एक थान अक्सिजन कन्सन्ट्रेटर र २५ थान पिपिई हस्तान्तरण गरिएको उपमहासचिव भट्टले बताए । उनले भने ‘कोरोना भाईरस रोकथाम तथा नियन्त्रणमा सहयोग पुगोस भनेर हामीले रेडक्रसका तर्फबाट स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हौं ।’

Atrya hospital

यस्तै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बैतडीले पनि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । चारओटै कार्यालयलाई १ हजारका दरले मास्क वितरण गरिएको छ भने नेपाली सेनालाई ७ ओटा डेथ बोडी बेग पनि हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका सभापति भीमदत्त पाण्डेयले बताए । उनले भने ‘अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुलाई सहयोग होस भनेर स्वास्थ्य सामग्री वितरण गरेका हौं । यसले कोभीड १९ को महामारी नियन्त्रणमा खटिनेहरुलाई काम गर्न सहज हुने हाम्रो विश्वास छ ।’

बिहीबार जिल्ला प्रशासन कार्यालयमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले जनाएको छ । 

स्वास्थ्य सामग्री हस्तान्तरणका लागि नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेश समितिका उपमहासचिव तेजप्रकाश भट्ट, शाखा बैतडीका सभापति भीमदत्त पाण्डेय, कोषाध्यक्ष पूर्णानन्द लेखक लगायको सहभागिता थियो । यस्तै प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेय, तिनैओटै सुरक्षा निकायका प्रमुख र स्वास्थ्य कार्यालयका प्रमुखलाई सामग्री हस्तान्तरण गरिएको हो । 

प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update