डडेल्धुरा –डडेल्धुरामा लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । पछिल्लो समय लामखुट्टेको टोकाइबाट डेंगुका बिरामी बढ्न थालेँसगै डेंगु नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान थालिएको हो ।
स्वास्थ्य कार्यालय डडेल्धुराको आयोजनामा लामुखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको हो । लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान चलाइएको स्वास्थ्य कार्यालयका डडेल्धुराका प्रमुख केशरबहादुर साउदले जानकारी दिए ।
डेंगु नियन्त्रणका लागि निदानात्मक तथा उपचारात्मक विधि र सचेतनाका लागि घरदैलो कार्यक्रम गरी पानी जम्न नदिन, पानी जम्ने ठाउँ पुर्न, टायर, पानीका बोतल, गमला, फूलदानी, फ्रिजजस्ता पानी जम्मा हुने ठाउँमा सरसफाइ गर्न सर्वसाधारणलाई समेत सुझाव दिइएको छ ।
डेंगु एडीस जातको पोथी लामखुट्टेको टोकाइबाट हुने र पानीमा यसले फुल पार्ने भएकाले त्यस्तो वातावरण सिर्जना हुनबाट रोक्नुपर्नेमा साउँदले जोड दिए । डेंगुबाट बच्ने उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु भएकाले यसमा सबैले ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।