कैलाली –सेती प्रादेशिक अस्पतालमा दूरबिनबाट पाठेघरको शल्यक्रिया सेवा सुरु गरिएको छ । शुक्रबारबाट सेती प्रादेशिक अस्पतालमा दूरबिन विधिबाट पाठेघरको शल्यक्रिया शुरु गरिएको हो । आज पहिलो दिन चार जना महिलाको दूरबिन बिधीबाट शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।
सेती प्रादेशिक अस्पतालमा टिचिङ अस्पताल महाराजगन्जबाट आएका प्राध्यापक डाक्टर पदमराज पन्त र परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालका सहप्राध्यापक डाक्टर श्रीप्रसाद अधिकारीद्वारा दूरबिन विधिबाट पाठेघरको शल्यक्रिया गरिएको हो ।
अस्पतालमा शुक्रबार गरिएको शल्यक्रियामा अस्पतालका स्त्री रोग बिशेषज्ञ र नर्सिङ स्टाफहरुको समेत सहभागिता रहेको थियो । यसले उनीहरुको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास गरिएको छ । सेती प्रादेशिक अस्पतालमा यस अघि पनि दूरबिन विधीबाट अन्य अङ्गको शल्यक्रिया हुने भए पनि पाठेघरको शल्यक्रिया भने पहिलोपटक गरिएको अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेले बताए ।
सेती प्रादेशिक अस्पतालमा दूरबिनबाट पाठेघरको शल्यक्रिया सुरू भएसँगै दूर्गम क्षेत्रमा कार्यरत चिकित्सकको क्षमता बढ्ने र सर्वसाधारण लाभान्वित हुने सेती प्रादेशिक अस्पतालका प्रसुती तथा स्त्रीरोग बिभाग प्रमुख डाक्टर खगेन्द्र भट्टले बताए ।