Sagun Khabar
बझाङमा नेपाली कांग्रेसले माओवादीसंग मात्रै गठबन्धन गर्ने 

बझाङ –बझाङमा नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रसँग मात्रै गठबन्धन गर्ने घोषणा गरेको छ । कांग्रेसको जिल्ला कार्यसमितिले आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग मात्रै गठबन्धन गर्ने घोषणा गरेको हो । नेकपा एकीकृत समाजवादी पार्टी जिल्लामा तेस्रो स्थानमा भएकाले गठबन्धन नगर्ने समेत कांग्रेसले विज्ञप्तिमार्फत जनाएको छ । 

नेपाली कांग्रेस बझाङ जिल्ला सभापति खडकबहादुर बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जिल्ला भरिका कांग्रेसजनबाट प्राप्त सुझावलाई मध्यनजर गर्दै बझाङ कांग्रेसले माओवादीसँग गठबन्धनका साथ अगाडि बढ्ने र समाजवादीसँग स्वच्छ प्रतिस्पर्धाका आधारमा निर्वाचनमा जाने ब्यहोरा अवगत गरिन्छ।’

Atrya hospital

स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट निर्वाचित केही जनप्रतिनिधिको कार्यशैली गठबन्धन विरोधी भएको र एकल निर्णयका साथ अगाडी बढेको गुनासो आएको पनि विज्ञप्तिमा उल्लेख छ ।

‘बझाङमा जनमतको हिसाबले नेपाली कांग्रेस अत्यधिक पहिलो स्थानमा, माओवादी दोस्रो स्थानमा र समाजवादी तेस्रो न्यून स्थानमा रहेको यथार्थ छ । तसर्थ बझाङ कांग्रेसले माओवादीसँग गठबन्धनका साथ अगाडि बढ्ने र समाजवादीसँग स्वच्छ प्रतिस्पर्धाका आधारमा निर्वाचनमा जाने ब्यहोरा अवगत गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
 

प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update