कैलाली –अनशनरत डा. केसीका प्रतिनिधि र सरकारबीचको वार्ता निष्कर्षविहीन निष्कर्षविहीन बनेको छ । आइतबारको वार्ताले कुनै निचोड दिन नसके पनि सकारात्मक रहेको र गृहकार्य गरेर पुनः छलफलमा जुट्ने सहमति भएको बताइएको छ ।
केसी पक्षका वार्ता संयोजक डा. जीवन क्षेत्रीले आफूहरुका माग बारे सरकारी वार्ता टोलीलाई अवगत गराएको बताए । सरकारी वार्ता टोलीले मागहरुका बिषयमा मन्त्रीहरुसंग छलफल गर्नुपर्ने बताएपछि आइतबारको वार्ता निष्कर्ष विहिन भएको हो ।
सरकारले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा वार्ता टोली बनाएको छ । डाक्टर केसी गत सोमबारदेखि ७ बुँदे माग राखेर धनगढीमा अनशनमा बसेका छन् । डा. केसीले स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै अनसन शुरु गरेका छन् । अनशन बसेको एक हप्ता भइसकेकाले डा. केसीको स्वास्थ्य अवस्था जटील बन्दै गएको छ ।