कैलाली – स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै अनशनमा बसीरहेका डा. गोविन्द केसीले नेपाल सरकारका सचिवको नेतृत्वमा अधिकार सम्पन्न वार्ता टोली गठन गरिए मात्रै वार्ता गर्ने अडान लिएका छन् । कैलालीको धनगढीमा गत सोमबारदेखि अनशन बसेका डाक्टर केसीको अवस्था गम्भीर भएपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।
शुक्रबार डाक्टर केसीको अनशनको पाँचौं दिन पुगेको छ । डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको अस्पतालले जनाएको छ । डाक्टर केसीका समर्थक र शुभचिन्तकले उनको स्वास्थ्यबारे चिन्ता जनाएका छन् भने राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेशको टोलीले पनि डाक्टर केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ ।
सरकारले डाक्टर केसीका मागबारे बेवास्ता गरेको आम बुझाई भएका बेला केसीले भने सरकारले सचिवस्तरीय वार्ता टोली गठन गर्न माग गरेका हुन् । उनले आफू वार्ताका लागि तयार रहेको पनि जनाएका छन् ।
गेटा मेडिकल कलेजका निर्देशक डाक्टर प्रदीप जोशीसँग डाक्टर केसीले सरकारले सचिवस्तरीय वार्ता टोली गठन गर्नुपर्ने बताएको डाक्टर केसीसँगै रहेका डाक्टर अमृत जैसीले बताए ।