दार्चुला –दार्चुलाको जिल्ला अदालतले भाउजू नाता पर्ने एकल महिलालाई बलात्कार गरी हत्या गरेको अभियोगमा एक अभियुक्तलाई आजीवन कारावासको सजाय सुनाएको छ । बुधबार शैल्यशिखर नगरपालिका १ बारिलका भोजबहादुर खडायतलाई आजीवन काराबासको सजाय सुनाइएको हो ।
खडायतलाई ज्यान मुद्दामा जन्मकैद सुनाइएको छ भने जबरजस्ती करणीमा ७ वर्ष, हाडनाता करणीमा १ वर्ष र डाँका मुद्दामा ७ वर्ष गरी थप १० वर्ष कारवासको सजाय सुनाइएको अदालतले जनाएको छ । यसका साथै बलात्कार र हत्यापछि मृतकको गहनासमेत लुटेका कारण डाँका मुद्दामा ७ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना तोकिएको बताइएको हो ।
मृतक एकल महिला रहेकाले उनमा आश्रित परिवारको भरणपोषणका लागि तीन लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेशसमेत अदालतले दिएको छ ।
गत जेठ २५ गते राति २ बजेतिर भोजबहादुर खडायतले जरुरी काम छ भन्दै भाउजू नाता पर्ने ४२ वर्षीया अनिभा खडायतलाई घरबाट करिब ५० मिटर टाढा रहेको उखुबारीमा लगेर जबरजस्ती करणी गरेको प्रहरीको अभियोजनपत्रमा उल्लेख छ ।
त्यसक्रममा अनिभाले प्रतिकार गरेपछि ढुंगाले टाउकोमा हानेर घाइते बनाई बलात्कारपछि नजिकै ओढारमा रहेको खर र नरुवा राखी जिउँदै जलाएर अनिभाको हत्या भएको थियो । बलात्कारपछि खडायतले अनिभाको कान र नाकमा लगाएको सुनका गहनासमेत लुटेर लगेका थिए ।