दार्चुला - शुक्रबार रातिबाट परेको अविरल वर्षाले दार्चुलामा ठूलो जनधनको क्षति गरेको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार हालसम्म ५ जनाको शव फेला परेको छ।
खलंगास्थित दशरथनगर आधारभूत विद्यालय बाढीले बगाएको छ। दुहुँ र महाकाली जोड्ने लास्कु झोलुंगे पुल र मोटरवेल पुल लास्कु खोलाले बगाएको छ। दार्चुला तिंकर सडक अवरुद्ध भएको छ। दार्चुला तिंकर सडकमा पार्किङमा राखिएका चार वटा जीपहरु महाकालीले बगाएको छ। महाकाली नदी नियन्त्रण आयोजनाले निर्माण गरेको पक्की तटबन्धमा क्षति पुर्याएको छ।
उद्धार र खोजी कार्य जारी रहेकोले क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले बताएकाे छ। घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ।
जिल्लाका बाढीपहिरो पीडितका लागि राहत लग्न लागिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले बताए। उनका अनुसार राहत बोकेको नेपाली सेनाको हेलिकोप्टर सुर्खेत हुँदै दार्चुला आउने छ ।