दार्चुला – शुक्रबार राति देखि अविरल बर्षाका कारण दार्चुलाको नौगाड गाउँपालिकामा वडा नं १ सल्लामा खसेको पहिरोमा परेर एक बालिकाको मृत्यु भएको छ । घरमाथिबाट खसेको पहिरामा च्यापिएर अन्दाजी १३÷१४ बर्षीय मदे ठगुन्नाको मृत्यु भएको मृतकका काका भरत ठगुन्नाले बताए ।
मृतक मदेको शव पुरिएको अवस्थामा फेला परेको उनले बताए । शुक्रबार राति एकबजेतिर खसेको पहिरोमा फसेका मृतकका बुवा पानसिंह ठगुन्ना र आमा फागुनी ठगुन्नाको जिवितै उद्धार गरिएको छ ।
यस्तै पहिरोमा परेर सोही ठाउँकी अन्दाजी ३० बर्षीया किमडी ठगुन्ना बेपत्ता भएकी बताइएको छ । पहिरोले ७÷८ ओटा घर पुरेकाले क्षतिको विवरण आउन बाँकी रहेको छ । लगातारको बर्षाले उद्धार कार्यमा समेत कठीनाइ भएको स्थानीयहरुले बताएका छन् ।अहिले पनि पहिरो खस्ने क्रम जारी रहेको छ ।
पहिरोले सल्ला गाउँमा ठूलो क्षति पुर्याएको स्थानीय चन्द्रावती ठगुन्नाले बताइन् ।