कैलाली –भारतबाट अवैध रुपमा भित्र्याएको भन्दै कैलाली प्रहरीले बरामद गरेको ९क्विन्टल चिनी जिल्ला प्रहरी कार्यालयबाटै गायब भएको विषयमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जवाफ माग गरेको छ ।
बरामद गरिएको चिनीका बिषयमा कैलालीका एसपी सोमेन्द्रसिंह राठौरलाई सुदूरपश्चिम प्रहरी कार्यालयका प्रमुख (डिआइजी) मोहनकुमार आचार्यले मौखिक स्पष्टीकरण सोधेका छन् ।
आचार्यले एसपी राठौरलाई जवाफसहित प्रदेश प्रहरी कार्यालयमा उपस्थित हुन निर्देशन दिएका हुन् । चिनी प्रहरी कार्यालयबाट गायब भएको बिषयमा छानबीन गर्ने र दोषीहरुलाई कारवाही गरिने उनले बताए ।
भदौ ८ गते राति करीब साढे ११ बजेको समयमा भारतबाट अवैध रुपमा अटो रिक्सामा लोड गरेर ल्याउँदै गरेको अवस्थामा प्रहरीले ५० किलो तौलका १८ बोरा चिनी बरामद गरेको थियो ।
रातभर जिल्ला प्रहरी कार्यालय परिसरमा राखिएको चिनी बिहानपख नभेटिएको र भन्सारमा बुझाइएको रेकर्ड पनि नभएकाले प्रहरीले तस्करलाई नै फिर्ता गरिदिएको आरोप लागेको छ । एसपी राठौरकै निर्देशनमा तस्करीको चिनी सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरिएको आरोप लागेको छ ।