कैलाली –धनगढीमा बैतडी समाज कैलालीले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । आफ्नो वार्षिक कार्यक्रम अनुसार गरिएको रक्तदान कार्यक्रममा ८५ जनाले रक्तदान गरेका छन् । समाजका अध्यक्ष मायाप्रकाश भट्टले ८५ जनाले रक्तदान गरेको जानकारी दिए । बैतडी समाजले हरेक बर्ष रक्तदान र स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ । प्रत्येक बर्षमा दुई पटक रक्तदान र स्वास्थ्य शिविरको आयोजना गर्दै आएको अध्यक्ष भट्टले बताए ।
आफ्नो वार्षिक कार्यक्रम अनुसार समाजले शनिबार धनगढी उपमहानगरपालिकाको वडा नम्बर ४ मा रहेको पदमा नर्सिङ कलेजको प्रांगणमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । रक्तदान कार्यक्रमको धनगढी उपमहानरपालिकामा नगर प्रमुख गोपाल हमाल र समाजका अध्यक्ष मायाप्रकाश भट्टले संयुक्त रुपमा सुभारम्भ गरेका थिए ।
बैतडी समाजले यसपाली सोही स्थानमा निःशुल्क स्वास्थ्य शिविर, निशुल्क आँखा जाँच शिविर र निःशुल्क दन्तसेवा शिविर पनि गरेका छ । धनगढी नेत्रालयको सहयोगमा गरिएको निशुल्क आँखा जाँच शिविरमा ३१८ जनाले सेवा लिएका छन् । उनीहरुलाई निःशुल्क चस्मा र औषधि वितरण गरिएको थियो ।
यस्तै सारथी अस्पताल प्रालीको सहयोगमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा १५५ जनाले सेवा लिएका छन् । शिविरमा ७७ जनाले दन्त सेवा लिएका बताइएको छ ।
बैतडी समाजले यसअघि बैतडी जिल्लाको पाटनमा बृहत निःशुल्क स्वास्थ्य शिविर पनि गरिसकेको छ ।