Sagun Khabar
बैतडीमा कोरोना विरुद्ध खोपको पहिलो मात्रा लगाउने संख्या १६ हजार बढी 

बैतडी –बैतडीमा १६ हजार १९६ जनाले कोरोना विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । विभिन्न मितिमा जिल्लामा सञ्चालन भएका खोप अभियान अन्तर्गत जिल्लामा अग्रपंक्तिमा रहेका व्यक्तिहरु र जेष्ठ नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् । 

पहिलो चरणमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायतका लागि सञ्चालन गरेको अभियानमा १ हजार ३९८ जनाले खोप लगाएका स्वास्थ्य कार्यालयका सिआइसीटी सहजकर्ता बिनिता चौधरीले जानकारी दिइन् । 

Atrya hospital

गएको माघ १३ देखि २४ गते सम्म सञ्चालन भएको खोप अभियानमा १ हजार ३९८ जनाले कोरोना विरुद्धको कोभीशिल्ड खोपको पहिला मात्रा लगाएको उनले बताइन् । 

यस्तै दोश्रो प्राथमिकतामा रहेका कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधिहरुका लागि फागुन २ देखि फागुन ११ गते सम्म सञ्चालन भएको खोप अभियानमा १ हजार ८४५ जनाले खोप लगाएका स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । कोभीशिल्ड खोपको पहिलो मात्रा लगाएका पहिला प्राथमिकताका व्यक्ति मध्ये २ हजार ७२३ जनाले खोपको दोश्रो मात्रा पनि लगाएका उनले बताए । 

यस्तै बैतडीमा १२ हजार ९५३ जना जेष्ठ नागरिकले कोभीशिल्ड खोपको पहिलो मात्रा लगाएका छन् । दशरथचन्द नगरपालिकामा १ हजार ८१७ जना, पाटन नगरपालिकामा २ हजार ४१७ जना, मेलौली नगरपालिकामा ९०७ जना, पुर्चौडी नगरपालिकामा १ हजार ९६० जना र सिगास गाउँपालिकामा १ हजार ५० जना जेष्ठ नागरिकले खोपको पहिलो मात्रा लगाएका छन् । 

यस्तै सुर्नया गाउँपालिकामा ८ सय, दोगडाकेदार गाउँपालिकामा १ हजार ४६३ जना, डिलाशैनी गाउँपालिकामा १ हजार ८९, पञ्चेश्वर गाउँपालिकामा ८ सय जना र शिवनाथ गाउँपालिकामा ६ सय ५० जना जेष्ठ नागरिकले खोपको पहिलो मात्रा लगाएका छन् । 

खोपको पहिलो मात्रा लगाएका जेष्ठ नागरिकका लागि खोपको दोश्रो मात्रा कहिले दिने भन्ने बिषयमा एकीन नभएको स्वास्थ्य प्रमुख भट्टले जानकारी दिए ।
 

प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  ०८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update