बैतडी – बझाङको बुंगल अहिले शोकमा डुबेको छ । बुंगल नगरपालिकाको वडा नं ८ का ५ जनाको दार्चुलामा भएको जिप दुर्घटनामा मृत्यु भएपछि गाउँ शोकमा डुबेको छ । वडा नं ८ का दासपला र बाटुली टोलका ५ जनाको घटनास्थलमै मृत्यु भएपछि अहिले गाउँ शोकमग्न भएको बुंगल नगरपालिका वडा नं ८ का वडा अध्यक्ष लोकेन्द्रबहादुर जाग्रीले बताए ।
बुधबार बझाङको बुंगल नगरपालिका ८ का ६ जना केही कामको खोजीमा र केही उपचारका लागि भारत प्रस्थान गरेका थिए । ‘ओल्के पर्व’ मनाइरहेका बेला घरपरिवारबाट बिदाबादी भएका उनीहरुमध्ये ५ जना सदाका लागि बिदा भएका छन् । दार्चुलाको बाटो भएर भारतको धार्चुला पुग्ने उनीहरुको योजना अधुरै रह्यो ।
बुधबार दिउँसो गोकुलेश्वरबाट खलंगाका लागि उनीहरु से १ ज ५५१ नम्बरको जिपमा चढेका थिए । शैल्यशिखर नगरपालिका वडा नं ६ को उल्लानीमा जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भयो । मृत्यु हुने सबै बझाङको बुंगल नगरपालिका ८ को बाटुली र दसपाला टोलका रहेका छन् ।
भारतबाट पैसा कमाएर परिवार पाल्ने उनीहरुको योजना अधुरै रहेको छ । एकैगाउँका ५ जनाको एकै चिहान भएपछि अहिले गाउँ शोकमग्न भएको वडा अध्यक्ष जाग्रीले बताए ।
दुर्घटनामा भाग्यबस बुंगल ८ का धनबहादुर जाग्री मात्रै बचेका छन् । घाइते जाग्रीको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको र उनको अवस्था समान्य रहेको वडा अध्यक्ष जाग्रीले बताए । जाग्रीसंगै भारत जानका लागि हिँडेका हिक्मत जाग्री, पुने बोहरा, उजाले बोहरा, रैभान बोहरा र चम्फा बोहराको भने मृत्यु भएको छ । रैभान र चम्फा श्रीमान–श्रीमती रहेको बताइएको छ ।
एकै गाउँका ५ जनाको मृत्यु भएपछि अहिले गाउँमा रुवाबासी चलेको वडा अध्यक्ष लोकेन्द्रबहादुर जाग्रीले बताए । उनले भने ‘यस्तो घटना कहिले भएको थिएन् । अहिले हामी गोकुलेश्वर गइरहेका छौं । गाउँमा रुवाबासी चलेको छ ।’
बुधबार शैल्यशिखर नगरपालिका–६ उल्लानीमा गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगाका लागि छुटेको जीप दुर्घटना भएको थियो । सो दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो भने अन्य ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
दुर्घटनामा परेर दाुर्चुलाको मालिकार्जुन गाउँपालिका–३ की ५० वर्षीया गोमती देवी धामी, सोही ठाउँकी ३० वर्षीया गोमती धामी, २१ वर्षीय सुमनसिंह धामी, ४२ वर्षीया रुपा धामी, मालिकार्जुन गाउँपालिका–६ की ४० वर्षीया रेवती धामी, महाकाली नगरपालिका–७ का ३५ वर्षीय रमेश लुहार, बझाङको बुंगल नगरपालिका–८ का धनबहादुर जाग्री र बैतडीको डिलाशैनी गाउँपालिका–३ का प्रदिप राना घाइते भएको दार्चुलाका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।
जिप सडकबाट करिब २५० मिटर तल खसेको थियो । ५ जनाको सिट पास रहेको जिपमा १४ जना सवार रहेको पाइएको छ । जिप अनियन्त्रित भएपछि दुर्घटना भएको एक यात्रुले बताएका छन् । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।