दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बलाँचमा रहेको चमेलिया जलविद्युत आयोजनाको सुरक्षामा आजदेखी सशस्त्र प्रहरी खटिएको छ । यसअघि नेपाली सेनाले सुरक्षा दिँदै आएको चमेलियामा आजबाट सशस्त्र प्रहरी खटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति त्रिभुवन विष्टले जानकारी दिए ।
२०७४ सालदेखि सशस्त्र प्रहरीको सुरक्षा जिम्मामा रहेको चमेलिया जलविद्युत आयोजना २०७७ सालमा नेपाली सेनालाई दिइएको थियो । सशस्त्र प्रहरीलाई सीमाको सुरक्षामा खटाउने सरकारले निर्णय गरेपछि बलाँचमा रहेको जलविद्युतको सुरक्षाका लागि नेपाली सेनालाई खटाइएको थियो । सेनाले सुरक्षा दिदै आएको चमेलियामा अब सशस्त्र प्रहरीले सुरक्षा दिने भएको छ । नेपाली सेना त्यहाँबाट अन्यत्र खटाउने भएपछि गृह मन्त्रालयले पुनः चमेलिया जलविद्युत आयोजना सुरक्षाको जिम्मा सशस्त्र प्रहरीलाई नै दिएको हो ।
४४ नम्बर गणबाट ४० जना सशस्त्र प्रहरीको टोली चमेलिया जलविद्युत आयोजनाको सुरक्षामा खटिएको बताइएको छ । बलाँच स्थित सशस्त्र प्रहरी बेशको कमाण्ड सशस्त्र प्रहरी बल नेपाल नम्बर ४३ रिजर्भ गणबाट खटिएका सशस्त्र प्रहरी नायव उपरिक्षक साजेन्द्र प्रसाद श्रेष्ठले गर्ने बताइएको छ ।
चमेलिया जलविद्युत आयोजनाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली आयोजनाको सुरक्षाका साथै शैल्यशिखर नगरपालिका, नौगाड गाउँपालिका, मार्मा गाउँपालिका र अपिहिमाल गाउँपालिकाको शान्ति सुरक्षा कायम गर्ने कुरामा पनि सक्रिय हुने गणपति विष्टले बताए ।
कुनै किसिमका अपराधिक घट्नाहरु हुन नदिन सशस्त्र प्रहरीले सुरक्षा सर्तकता अपनाउने उनको भनाइ छ ।