दार्चुला – देशकै सात धाममध्येको एक धाम शैल्यशिखर मल्लिकार्जुनको शिखर धुरामा मंगलबार (आज) ठूलो पुजन जात्रा लागेको छ । पुजन जात्रामा सहभागी हुन भक्तजनहरु सोमबारदेखि नै शिखरतर्फ लागेका छन् । हिन्दू धर्मावलम्बीहरुको आस्थाको धरोहर मानिने शैल्यशिखर धामको दर्शन गर्न सयौंको संख्यामा भक्तजनहरु मालिकार्जुन पुगेको मालिकार्जुन मन्दिर विकास समितिका सचिव जनक सिंह धामीले जानकारी दिए ।
शिखर पुजन जात्रामा दार्चुला, बैतडी, डडेल्धुराका साथै सुदूरपहाड र भारतको उत्तराखण्डबाट समेत भक्तजनहरु दर्शनका लागि पुग्ने गर्दछन् । शैल्यशिखर मालिकार्जुनको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।
विवाहित महिला तथा ब्रतबन्ध गरेका पुरुषहरुले १५ दिन अगाडि देखि नै शुद्ध भएर शिखर जाने प्रचलन रहिआएको छ । शिवलिगंको रुपमा परिचित शिखर धाममा मालिकार्जुन तथा भागाश्री अर्थात शिव–पार्वतीको मुख्य बासस्थान रहेको जनविश्वास रहेको छ ।
मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमा क्षेत्रमा पर्ने शैल्यशिखर धाममा प्रत्येक वर्ष असार शुक्ल चतुर्दशी तिथि र कात्तिक शुक्ल त्रयोदशी तिथिमा गरी वर्षमा दुई पटक शिखर पुजन जात्रा लाग्ने गर्दछ ।