Sagun Khabar
बैतडीमा कोरोना पुनः परीक्षण गराए एक हजार शुल्क लाग्ने 

बैतडी –बैतडीमा कोरोना पुनः परीक्षण गरेमा शुल्क लाग्ने भएको छ । कोरोना पुष्टि भएको १४ दिन सम्म आइसोलेसनमा बसेकाहरुले कोरोना परीक्षण गराउन आवश्यक नरहेको र कसैले स्वेच्छिक रुपमा पुनः परीक्षण गर्ने भएमा एक हजार शुल्क लाग्ने जिल्ला अस्पताल बैतडीले जनाएको छ । 

अस्पतालले बुधबार एक सूचना जारी गर्दै कोरोना संक्रमण भएको १४ दिन आइसोलेसनमा बसेकाहरुले कोरोना परीक्षण गर्न आवश्यक नरहेको जनाएको छ । यस्तै १४ दिन सम्म लक्षण भएकाहरुले थप ३ दिन आइसोलेसनमा बस्नुपर्ने र त्यसपछि कोरोना परीक्षण आवश्यक नरहेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए ।

Atrya hospital

फलोअप केसका कारण नयाँ बिरामीको कोरोना परीक्षणमा समस्या भईरहेको र पीसीआर रिएजेन्ट समेत अनावश्यक खर्च भएकाले कोरोनाको पुनः परीक्षणमा शुल्क लगाइएको डा. जोशीले बताए । उनले भने ‘१४ दिनपछि लक्षण नभएमा कोरोना पुनः परीक्षण आवश्यक छैन् । कोरोना पुष्टि भएको १४ दिन सम्म आइसोलेसनमा बस्ने र कुनै लक्षण नभएमा कोरोना निको भएको मान्नुपर्छ । यदि १४ दिन सम्म पनि लक्षण भएमा थप ३ दिन आइसोलेसनमा बस्नुपर्छ ।’

संक्रमण पुष्टि भएको १४ दिनपछि कोरोना परीक्षण नै आवश्यक नरहेको डा. जोशीको भनाई छ । कोरोनाको लक्षण भएका तथा कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरुको भने निशुल्क रुपमा कोरोना परीक्षण हुने जिल्ला अस्पतालले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update