Sagun Khabar
बैतडीको शिवनाथमा चिकित्सक सहितको कोरोना अस्थायी अस्पताल सञ्चालन 

बैतडी –बैतडीको शिवनाथ गाउँपालिकाले डाक्टर सहितको कोरोना अस्थायी अस्पातल सञ्चालनमा ल्याएको छ । कोरोनाका बिरामीहरुलाई चेकजाँच र परामर्शका लागि सहज होस भनेर अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए । 

डा. पवित्रा राईलाई गाउँपालिकाले कोरोना अस्थायी अस्पतालका लागि नियुक्त गरेको उनले बताए । उनले भने ‘हामीले ५ शैय्याको अस्थायी कोरोना अस्पताल सञ्चालनमा ल्याएका छौं । चिकित्सको सुविधा सहित अस्पताल सञ्चालनमा ल्याएपछि अब केही सजिलो हुने आसा गरेका छौं ।’

अस्थायी कोरोना अस्पतालमा चिकित्सक सहित दुई जना स्टाफ नर्स पनि खटाइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महताले बताए । उनले भने ‘हामीले लामो प्रयासपछि चिकित्सक सहितको अस्थायी कोरोना अस्पताल सञ्चालनमा ल्याएका छौं । यसले गाउँपालिकाबासीलाई स्वास्थ्य सेवा लिन सहज हुनेछ ।’

अस्पतालमा अक्सिजन सिलिण्डर र अक्सिजन कन्सन्ट्रेटरको व्यवस्था समेत गर्ने तयारी भएको गाउँपालिका अध्यक्ष साउँदले बताए । उनले भने ‘हामीले अस्पतालमा अक्सिजन सिलिण्डर र अक्सिजन कन्सन्ट्रेटरको व्यवस्थाका लागि पहल गरिरहेका छौं ।’

अस्थायी कोरोना अस्पताल भएपनि यो अस्पताललाई निरन्तरता दिने अध्यक्ष साउँदले बताए । उनले भने ‘कोरोना कहर केही कम भएमा प्रत्येक हप्ता वडाहरुमा पनि बिशेषज्ञ शिविर सञ्चालन गर्ने तयारी गरेका छौं ।’

अस्थायी कोरोना अस्पतालमा डाक्टर पदपूर्ती भएसंगै वडाहरुमा शिविर मार्फत सेवा दिने तयारी भएको हो । गाउँपालिकामा चिकित्सक सहितको कोरोना अस्थायी अस्पताल सञ्चालनमा आएपछि गाउँपालिकाबासीलाई सेवा लिन सजिलो हुने विश्वास गरिएको छ । 
 

प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८  ११:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update