Sagun Khabar
बैतडीमा कोरोना संक्रमणदर घट्दै 

बैतडी –बैतडीमा कोरोना संक्रमण दर केही घटेको छ । कोरोनाको दोश्रो लहर फैलिएपछि करीब ४५ प्रतिशत संक्रमणदर पुगेको बैतडीमा अहिले २५ प्रतिशतमा झरेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । 

पछिल्लो समयमा जारी गरिएको निषेधाज्ञा, स्थानीय तहमा आइसोलेसनको व्यवस्था र स्थानीयहरुको सचेतताका कारण कोभीड संक्रमणदरमा केही कमी आएको उनले बताए । उनले भने ‘केही दिनयताको तथ्यांक हेर्दा कोभीड संक्रमणदर जिल्लामा घटेको छ । तर अझै जोखिम भने कायमै रहेको छ ।’

Atrya hospital

संक्रमण फैलिने जोखिम अझै रहेकाले स्वास्थ्यका मापदण्ड परिपालनामा ध्यान दिनुपर्नेमा स्वास्थ्य प्रमुख भट्टले जोड दिए । उनले भने ‘स्वास्थ्यका मापदण्ड पालना गर्नु पनि अहिले पनि उत्तिकै आवश्यक छ । कोरोना संक्रमणको जोखिम कम गर्नका लागि सरसफाईमा पनि बिशेष ध्यान दिनुपर्छ ।’

जारी निषेधाज्ञाका कारण भीडभाड कम भएकाले कोरोना संक्रमण दर घटेको र स्थानीय तहहरुले पनि कन्ट्याक्ट ट्रेसिङको काम गरेकाले कोरोना संक्रमणदर घटाउन सहयोग मिलेको  स्वास्थ्य प्रमुख भट्टले बताए । 

यसअघि जिल्ला कोभीड संकट व्यवस्थापन केन्द्रको बैठकले स्थानीय तहहरुमा कोरोना परीक्षणको दायरा बढाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार कोरोना परीक्षणको दायरा बढाएको र निषेधाज्ञाको पालनाले संक्रमण दर घटेको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए । 
 

प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update