Sagun Khabar
सुर्नयाले वडा वडामा कोरोना संक्रमित खोज्दै 

बैतडी –बैतडीको सुर्नया गाउँपालिकाले घरघरमै गएर कोरोना परीक्षण गर्न थालेको छ । शंकास्पद बिरामीहरुको घरमै गएर एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्न थालिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । उनले भने ‘शंकास्पद बिरामी भएका ठाउँमा हामीले एन्टीजेन कीट मार्फत कोरोना परीक्षण गर्दै आएका छौं ।’

कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरण गर्नका लागि शंकास्पद बिरामी भएका ठाउँमा एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्ने गरिएको हो । स्थानीय वडामै भएका स्वास्थ्यकर्मीहरुलाई परिचालन गरेर घरघरमै कोरोना परीक्षण गर्ने गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलापति भट्टले जानकारी दिए । कोरोना नियन्त्रण तथा रोकथाम अहिले पालिकाको प्राथमिकतामा रहेको समेत भट्टले जानकारी दिए । 

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यका मापदण्ड पालना गर्नुका साथै परीक्षणको दायरा बढार्ईएको गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्टले जानकारी दिए । गाउँपालिकाका वडाहरुमा रहेका शंकास्पद बिरामीहरुको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्ने गरिएको उनले बताए । उनले भने ‘समुदायमा रहेका शंकास्पद बिरामीहरुको परीक्षण गरिरहेका छौं ।’

सुर्नया गाउँपालिकासंग दुई सय एन्टीजेन कीट रहेको र ती कीट मार्फत कोरोना परीक्षण भईरहेको स्वास्थ्य शाखा प्रमुख महराले बताए  । अहिले सम्म गाउँपालिकाको वडा नं ४,५ र ८ मा बढी शंकास्पद बिरामी भेटिएकाले ती वडाहरुमा परीक्षण बढाइएको महराले बताए । 

सुर्नया गाउँपालिकाले यसअघि नै कोरोना संक्रमितका लागि वासुलिंग स्वास्थ्यचौकीमा ३२ बेडको आइसोलेसन कक्ष बनाईसकेको छ । 
 

प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८  १२:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update