Sagun Khabar
अवस्थीद्वारा खाद्यान्न सहयोग अभियानमा ५० हजार नगद सहयोग 

बैतडी –शिवांश हेल्प फाउण्डेसनले बैतडीमा सञ्चालन गरेको खाद्यान्न सहयोग अभियानमा बैतडीका युवा सुरेश अवस्थीले ५० हजार नगद सहयोग गरेका छन् । कोरोना कहरका कारण समस्यामा परेका नागरिकलाई खाद्यान्न सहयोग गर्न सञ्चालन गरिएको अभियानमा अवस्थीले पचास हजार नगद सहयोग गरेको शिवांश हेल्प फाउण्डेसनका अध्यक्ष महेश अवस्थीले बताए । 

बैतडीको सुर्नया गाउँपालिका ६ कोखेत घर भएका अवस्थीले आफूले रोजगारीको सिलसिलामा कोरियामा बस्दा कमाएको पैसाबाट खाद्यान्न सहयोग अभियानमा साथ दिएको बताए । उनले भने ‘अहिलेको समयमा कतिपय नागरिकलाई दुई छाक टार्न धौ धौ छ । त्यसैले समस्यामा परेका नागरिकलाई सहयोग होस भनेर मैले पनि अभियानमा साथ दिएको हुँ ।’

Atrya hospital

समस्यामा परेका नागरिकको दुःख आफूले आफ्नै आँखाले देखेकाले खाद्यान्न सहयोग अभियानमा नगद सहयोग गरेको अवस्थीले बताए । उनले भने ‘कोरोना कहरका कारण कतिपयका बालबच्चा भोकै बस्न बाध्य छन् । उनीहरुलाई सहयोग पुगोस भनेर मैले पनि सहयोग गरेको हुँ । यसरी सहयोग गर्न पाउँदा निकै खुसी लागेको छ ।’

शिवांश हेल्प फाउण्डेसन मार्फत सञ्चालन गरिएको अभियानमा दुई लाख बढीको खाद्यान्न वितरण गरिने फाउण्डेसनका अध्यक्ष अवस्थीले बताए । स्थानीय तहमा रहेका कमजोर आर्थिक अवस्था भएका परिवारलाई खाद्यान्न वितरण गरिने बताइएको छ ।

प्रत्येक स्थानीय तहमा २१ परिवारलाई २५ केजी चामल वितरण गर्ने हिसाबले तयारी भईरहेको अवस्थीले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update