बझाङ- छविस पाथिभेरा गाउँपालिकामा नेकपा एमालेले मतगणना रोकेर विवाद भएको स्थानको मतदान फेरि गर्नुपर्ने माग राख्दै नाराबाजी गरिरहेका छन्। शुक्रवार भएको निर्वाचनमा छविस पाथिभेरा गाउँपालिका वडा नं ६ को वाटपाली माविको मतदान केन्द्रमा माओवादीका कार्यकर्ताहरूले फर्जी मत हालेको र भारतमा रहेका व्यक्तिको समेत मत हालिदिएको भन्दै एमालेले निर्वाचन बहिष्कार गरेको थियो।
उक्त स्थानमा फेरी मतदान गराउनुपर्ने माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको थियो। तर, निर्वाचन कार्यालयले ३ घण्टाभित्र दुवै पक्षलाई मिलेर आउन भनेको र नमिलेको खण्डमा मतगणनालाई अघि बढाउने बताएको थियो।
एमाले र गठबन्धनमा रहेका दलहरुबीच सहमति नभएपछि निर्वाचन अधिकृतको कार्यालयले मत गणनाको तयारी थालेपछि एमालेले निर्वाचन अधिकृतको कार्यालयमा नाराबाजी गरिरहेको छ। विवादित क्षेत्रमा पुनः मतदान नगरिएको खण्डमा मतगणना गर्न नदिने नेकपा एमाले छविस पाथिभेरा गाउँकमिटीले जनाएको छ।




                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
