Sagun Khabar
बैतडीका ६२ वडामा छैनन् सचिव, करार र प्राविधिक कर्मचारीको भरमा सेवा प्रवाह  

बैतडी –बैतडीका ८४ ओटा वडामध्ये ६२ ओटा वडामा वडा सचिवको दरबन्दी खाली रहेको पाइएको छ । जिल्लाका २२ ओटा वडामात्रै सचिव दरबन्दी परिपूर्ती भएको छ । बाँकी ६२ वडामा करारका कर्मचारी, प्राविधिक, स्वास्थ्यकर्मी तथा कम्प्युटर अपरेटरलाई सचिवको जिम्मेवारी दिइएको छ ।

जिल्लाको सुर्नया गाउँपालिका र सिगास गाउँपालिकाका सबै वडामा स्थायी सचिव नहुँदा प्राविधिक, स्वास्थ्यका कर्मचारी र करारका कर्मचारीले सचिवको कार्यभार सम्हालिरहेका छन् ।

स्थानीय तह अनुसार पाटन नगरपालिकाका ७, पुर्चौडी नगरपालिकाका ९, मेलौली नगरपालिकाका ७ र दशरथचन्द नगरपालिकाका ४ वडामा सचिवको दरबन्दी रिक्त छ । 

यस्तै, दोगडाकेदार गाउँपालिकाका ४, पञ्चेश्वर गाउँपालिकाका ४, डिलाशैनी गाउँपालिका  ५ शिवनाथ गाउँपालिकाका ५ वडामा पनि स्थायी सचिव छैनन् । दरबन्दी परिपूर्ति नभएका यी वडाहरूमा प्राविधिक कर्मचारी, स्वास्थ्यका कर्मचारी, कम्प्युटर अपरेटर तथा करारका कर्मचारीलाई दोहोरो जिम्मेवारी दिइएको छ ।

पाटन नगरपालिकाका १० ओटा वडा मध्ये ३ ओटा वडामात्रै सचिवको दरबन्दी पदपूर्ती भएको छ । बाँकी वडाहरुमा प्राविधिकहरुलाई दोहोरो जिम्मेवारी दिइएको नगरपालिकाका सूचना अधिकारी राजेन्द्र भट्टले बताए । 

दशरथचन्द नगरपालिकाका ११ वडा मध्ये ७ वडामा सचिवको दरबन्दी पदपूर्ती भएको छ । बाँकी वडामा प्राविधिक तथा अन्य कर्मचारीहरुलाई वडा सचिवको जिम्मेवारी दिइएको नगरपालिकाले जनाएको छ । 

पुर्चौंडी नगरपालिकाका १० वडा मध्ये ९ वडामा प्राविधिक कर्मचारीहरुले वडा सचिवको काम गरिरहेका छन् भने वडा नम्बर २ मा कसैलाई पनि सचिवको जिम्मेवारी नदिएकाले पूर्ण रुपमा खाली रहेको नगरपालिकाका सूचना अधिकारी प्रवीन धानुकले बताए । 

९ वटा वडा रहेको मेलौली नगरपालिकामा वडा न–३ र ८ मा मात्रै सचिव छन् । बाँकी वडाहरूमा कम्प्युटर अपरेटर लगायत प्राविधिकहरूलाई सचिवको जिम्मेवारी दिइएको नगरपालिकाकी सूचना अधिकारी सपना कार्कीले बताइन् । 

दोगडाकेदार गाउँपालिकाका ८ वडामध्ये वडा न–३, ४, ५ र ८ मा सचिव छन् भने बाँकी ४ वडामा प्राविधिक समूहका कर्मचारीले सचिवको भूमिका निर्वाह गरिरहेको प्रमुख प्रशासकीय अधिकृत नरेशराज जोशीले जानकारी दिए । 

६ वटा वडा रहेको पञ्चेश्वर गाउँपालिकामा वडा न–३ र ६ मा मात्रै दरबन्दी परिपूर्ति छ । बाँकी ४ वडामा प्राविधिकलाई दोहोरो जिम्मेवारी दिएर काम चलाइएको गाउँपालिकाका सूचना तथा प्रविधि शाखा प्रमुख रोशन चन्दले जानकारी दिए ।

७ वटा वडा रहेको डिलाशैनी गाउँपालिकाका वडा न–२ र ६ मा मात्रै स्थायी सचिव छन् । बाँकी ५ वडामा प्राविधिक र स्वास्थ्य समूहका कर्मचारीलाई दोहोरो जिम्मेवारी दिइएको गाउँपालिका अध्यक्ष सन्तोष जोशीले बताए । 

६ वटा वडा रहेको शिवनाथ गाउँपालिकाको वडा नं. १ मा मात्रै सचिव छन् । बाँकी ५ वटा वडामा प्राविधिक र करारका कर्मचारीलाई जिम्मेवारी दिइएको सूचना अधिकारी महेशसिंह महताले जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३  १३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update