
बैतडी – जिल्ला अस्पताल बैतडीमा सञ्चालन भएको निशुल्क हाडजोर्नी शिविरबाट ११ सय बढी नागरिकले सेवा लिएका छन् । यही चैत १८ गतेदेखि २३ गते सम्म सञ्चालन भएको शिविरमा ११ सय ८९ जनाले सेवा लिएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले बताए ।
शिविरमा ८७ जनाको शल्यक्रिया गरिएको छ भने बाँकीले उपचार सेवा लिएका उनले बताए । काठमाण्डौंको जोरपाटीस्थित नेपाल अर्थोपेडिक हस्पिटल, जिल्ला अस्पताल बैतडी र स्वास्थ्य कार्यालय बैतडीको संयुक्त आयोजनामा शिविर सञ्चालन भएको हो । शिविरमा हाडजोर्नी सम्बन्धि समस्या भएका बिरामीहरुको उपचार र शल्यक्रिया गरिएको नेपाल अर्थोपेडिक हस्पिटलका बरिष्ठ प्रशासकीय अधिकृत धिरज मैनालीले बताए । सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालले निशुल्क शिविर सञ्चालन गरेको उनले बताए ।
जिल्ला अस्पातलमै सञ्चालन भएको निशुल्क शिविरमा सेवा लिन पाउँदा स्थानीयबासीहरु पनि खुसी भएका छन् । घर नजिकैको अस्पातलमा बिशेषज्ञ चिकित्सकबाट सेवा लिन पाउँदा निकै खुसी लागेको स्थानीय बिष्ना ओडले बताइन् । उनले भनिन् ‘हामी आर्थिक अवस्था कमजोर भएका बिरामीहरुलाई अन्यत्र जान निकै समस्या भईरहेको थियो । जिल्ला अस्पतालमै सञ्चालन भएको शिविरले हामीलाई धेरै फाइदा भयो ।’
स्थानीयस्तरमा सञ्चालन भएको निशुल्क शल्यक्रिया शिविरले यहाँका नागरिक लाभान्वित भएका जिल्ला अस्पताल बैतडीका व्यवस्थापक सुमन महराले बताए । शिविरमा बैतडीका मात्रै नभएर सीमावर्ती दार्चुलाका नागरिकले समेत सेवा लिएका उनले बताए ।