Sagun Khabar
बैतडीको खोड्पेमा हेल्थ डेस्क स्थापनामा ढिलाई 
फोटो : बैतडीको खोड्पे बजार 

बैतडी –बैतडीको खोड्पेमा हेल्थ डेस्क स्थापना गर्ने कार्यमा ढिलाई भएको छ । जिल्लामा निषेधाज्ञा जारी गरेकै बेला खोड्पेमा हेल्थ डेस्क स्थापनाका लागि निर्णय भएको भएपनि कीटको अभावमा हेल्थ डेस्क स्थापना गर्न नसकिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । उनले भने ‘एन्टीजेन कीटको अभावमा हामीले हेल्थ डेस्क स्थापना गर्न सकेका छैनौं । कीटको उपलब्धता हुने बित्तिकै हेल्थ डेस्क स्थापना गर्नेछौं ।’ 

जिल्ला भित्रिने हरेक नागरिकको कोरोना परीक्षण गर्ने उद्देश्य हेल्थ डेस्क स्थापना गर्ने निर्णय भएको भएपनि कीट उपलब्ध हुन नसकेको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए । उनले भने ‘हामीले यो महामारी नियन्त्रणका लागि हामीले तराईका जिल्लाबाट आउनेहरुको परीक्षण गर्ने सोच बनाएका हौं । कीट उपलब्ध नहुँदा समस्या भएको छ ।’

Atrya hospital

कीटका उपलब्धताका लागि अनुरोध गरेको भएपनि अहिले सम्म पाउन नसकेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । तराँईका जिल्लाबाट भित्रिने नागरिकको कोरोना परीक्षण गरेर मात्रै भित्रिन दिने लक्ष्य रहेको भएपनि एन्टीजेन कीटको अभावमा समस्या भएको उनले सुनाए । 

केही दिन पहिला बसेको जिल्ला कोभीड संकट व्यवस्थापन केन्द्रको बैठकले खोड्पेमा हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरेको थियो । जिल्लामा कोरोनाको चेन ब्रेक गर्नका लागि तराईबाट आएकाहरुको पनि परीक्षण आवश्यक रहेको स्वास्थ्य प्रमुख भट्टले बताए ।

उनले भने ‘अहिले निषेधाज्ञाको अवधि पनि थपिएको छ । तराईका जिल्लाबाट खाद्यान्न सामग्री बोकेर आउने सवारी साधनका चालक लगायतको कोरोना परीक्षण गरेर मात्रै जिल्ला भित्रिन दिने हाम्रो उद्देश्य हो तर कीटको अभावमा हेल्थ स्थापना गर्न सकिएको छैन् ।’

 

प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  ०७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update