Sagun Khabar
बैतडीका तीन स्थानीय तह एम्बुलेन्स विहिन 

बैतडी –बैतडीका तीनओटा स्थानीय तह एम्बुलेन्स विहिन रहेका छन् । जिल्लाको पुर्चौंडी नगरपालिका, सुर्नया गाउँपालिका र सिगास गाउँपालिकामा एम्बुलेन्स नरहेको सम्बन्धित स्थानीय तहहरुले जनाएका छन् । 

कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि आकस्मिक बिरामीहरुलाई अस्पताल पुर्याउन एम्बुलेन्स आवश्यक भएपनि ती स्थानीय तहमा एम्बुलेन्स नहुँदा समस्या भएको छ ।

जिल्लाभरी ११ ओटा एम्बुलेन्स सञ्चालनमा रहेका र नभएका ठाउँमा पनि अहिलेका लागि तिनै एम्बुलेन्सहरुको प्रयोग भईरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

Atrya hospital

जिल्लाको पुर्चौंडी नगरपालिका र सुर्नया गाउँपालिकाको एम्बुलेन्स खरीद प्रक्रिया शुरु भईसकेको बताइएको छ । पुर्चौंडी नगरपालिकाले एम्बुलेन्स खरीदका लागि प्रक्रिया अगाडि बढाईसकेको भएपनि लकडाउन कारण ल्याउन नसकिएको उपप्रमुख जानकी ऐर बमले जानकारी दिइन् । 

यस्तै सुर्नया गाउँपालिकाका लागि पनि एम्बुलेन्स खरीद प्रक्रिया शुरु भईसकेको छ । सुर्नयाका लागि एम्बुलेन्स खरीद गर्न प्रदेश पूर्वाधार कार्यक्रममबाट स्वास्थ्य कार्यालयमा १२ लाख बजेट निकासा भईसकेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । 

प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्ट (आदित्य)को प्रदेश पूर्वाधार कार्यक्रम अन्तर्गत सो रकम निकासा भएको छ । एम्बुलेन्स खरीदका लागि प्रक्रिया अघि बढेको भएपनि लकडाउनका कारण समस्या भएको स्वास्थ्य प्रमुख भट्टले बताए । उनले भने ‘हामीले एम्बुलेन्स खरीदका लागि सार्वजनिक सूचना आह्वान गरेका हौं । एकजना आपूर्तीकर्ता छनौट समेत भईसकेको हो तर अहिले सम्पर्कमा गरेको छैन् ।’

जिल्लाको सिगास गाउँपालिकाले भने चालु आर्थिक बर्षमा एम्बुलेन्स खरीदका लागि प्रक्रिया शुरु नगरेको स्वास्थ्य शाखा प्रमुख घनश्याम बोहराले बताए । गाउँपालिकाले अहिले जिप भाडामा लिएर आवश्यक परेको बेला प्रयोग गरिरहेको उनले बताए । 

अहिले जिल्लामा ११ ओटा एम्बुलेन्स सञ्चालनमा रहेका बताइएको छ । जिल्ला अस्पातलसंग दुईओटा, दशरथचन्द नगरपालिकासंग दुई ओटा, पाटन नगरपालिका, मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकासंग एक÷एक ओटा एम्बुलेन्स रहेका छन् ।

यस्तै शहीद दशरथचन्द स्मृति प्रतिष्ठानसंग एउटा एम्बुलेन्स रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, जेठ १, २०७८  ०९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update