दार्चुला –दार्चुलाको महाकाली नगरपालिका–४ स्थित महाकाली पारि एकलौटी तरिकाले भारतले नदीको धार परिवर्तन गर्ने गरी निर्माण गरिरहेको तटबन्ध रोक्न दार्चुलाका स्थानीयले माग गरेका छन् । शनिबार उनीहरुले सदरमुकाम खलंगास्थित आफ्नो भूमिबाट भारतीय कार्यको विरोध गरेका छन् ।
भारतले महाकालीको धार परिवर्तन गर्ने गरेर तटबन्ध निर्माण गर्दा समेत सरकार चुप लागेकाले आफूहरु आन्दोलित हुनु परेको स्थानीय लालसिंह धामीले बताए । अहिले सुदूरपश्चिम प्रदेश सभाका सभामुख, उपसभामुख सहितको प्रदेशसभा सदस्यको टोली दार्चुलामा छ । तर उनीहरुले समेत सो बिषयमा चासो नदिएको भन्दै स्थानीयहरु आन्दोलित भएका हुन् ।
यसअघि स्थानीयले तटबन्ध रोक्न दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गराइसकेका छन् । तर तटबन्ध निर्माण कार्य अझै रोकिएको छैन् । यस विषयमा राजनीतिक दल, स्थानीय प्रशासन र सरकार मौन रहेको स्थानीयले गुनासो गरेका छन् ।