दार्चुला –दार्चुलाको मार्मा गाउँपालिकामा स्थानीयस्तरमै साबुन उत्पादन कार्य शुरु गरिएको छ । चिउरीको प्रशोधन गरेर साबुन उत्पादन कार्य शुरु गरिएको हो । मार्मा गाउँपालिका र ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको आर्थिक सहयोगमा शिवालिङ्ग बचत तथा ऋण सहकारी मार्फत साबुन उत्पादन सुरु भएको गाउँपालिकाका जलश्रोत अधिकृत रमेशचन्द्र अवस्थीले बताए ।
स्थानीयस्तरमै रहेको चिउरीलाई प्रशोधन गरेर हर्बल साबुन उत्पादन गरिएको उनले बताए । स्थानीय उत्पादनलाई प्रोत्साहन दिने उद्देश्य सहित साबुन उत्पादन गरिएको हो । मार्मा साबुन नाम दिइएको नुहाउने हर्बल साबुन उत्पादन गरेर बजारमा पठाउने तयारी भएको अवस्थीले बताए । यस्तै बाहिरबाट कच्चा पदार्थ मगाएर लुगा धुने साबुन पनि उत्पादन गरिएको छ । पहिलो चरणमा १२ हजार पीस साबुन उत्पादन गरेको बताइएको छ ।
उत्पादित साबुनलाई मार्मा, शैल्यशिखरको गोकुलेश्वर, बैतडी डडेल्धुरा र धनगढीसम्म पठाउने तयारी गरिएको अवस्थीले बताए । मार्मामा प्रशस्त मात्रा चिउरी फल्ने र त्यसबाट साबुन उत्पादन गर्न सकिने भएपछि साबुन उत्पादन कार्य शुरु भएको हो ।
साबुन उद्योग स्थापनाका लागि मार्मा गाउँपालिका,ग्रामीण जलश्रोत व्यवस्थापन परियोजना र सहकारीमार्फत झण्डै एक करोड बढि लगानी भएको छ ।
स्थानीयस्तरमै साबुन उद्योग स्थापना भएर उत्पादन शुरु भएपछि रोजगारीको समेत सिर्जना भएको छ ।