Sagun Khabar
सुर्नया ४ मा तालाबन्दी प्रकरण : स्थानीयहरुले राखे १४ बुँदे माग 

बैतडी – बैतडीको सुर्नया गाउँपालिका वडा नं ४ मा तालाबन्दी गरेका स्थानीयहरुले १४ बुँदे माग अघि सारेका छन् । शुक्रबार वडा कार्यालयमा तालाबन्दी गरेका स्थानीयहरुले १४ बुँदे अघि सारेको स्थानीय हरिश कुँवरले बताए । 

प्रधानमन्त्री रोजगार फारम भर्ने बेला गरिएका किर्ते फारमको बिषयमा छानबीन हुनुपर्ने, वडा कार्यालयमा बिना विज्ञापन नियुक्त गरिएका कर्मचारीहरुको नियुक्ति खारेज हुनुपर्ने, आन्तरिक राजस्वको विवरण उपलब्ध गराउनु पर्ने माग अघि सारिएको छ । 

यस्तै टोलभेलाबाट छनौट भएका योजनाहरुलाई प्राथमिकता नदिएकाले ती योजनाहरुलाई प्राथमिकता दिनुपर्ने, वडा कार्यालयले सम्पादन गरेका कामहरुको बारेमा सार्वजनिक सुनुवाई गरेर जानकारी दिनुपर्ने, वडा कार्यालयले अहिले सम्म गरेको खर्चको विवरण उपलब्ध गराउनुपर्ने लगायतका मागहरु स्थानीयहरुले राखेका छन् । 

यस्तै वडा कार्यालयमा कार्यरत सचिवको सरुवा हुनुपर्ने माग समेत अघि सारिएको छ । वडामा प्रधानमन्त्री रोजगार कार्यक्रमको फारम भर्दा पूर्वाग्रहपूर्ण व्यवहार गरेको भन्दै स्थानीयहरुले शुक्रबार वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । 

यता वडा अध्यक्ष दिनेशप्रसाद भट्टले भने हरेक समस्याको समाधान छलफलबाट हुने भएकाले तालाबन्दी गर्ने पक्ष छलफलमा नबसेको बताए । 
 

प्रकाशित मिति: शनिबार, फागुन २८, २०७८  १९:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update