Sagun Khabar
निषेधाज्ञा उल्लंघन गर्दै बैतडीको एक विद्यालयमा अभिभावक भेला 
फोटो :दीपज्योती आधारभूत विद्यालय तालघुर्पेमा भएको अभिभावक भेला  

बैतडी–कोरोना भाईरसको संक्रमण  रोकथाम तथा नियन्त्रणका लागि बैतडी जिल्लाभरी निषेधाज्ञा जारी रहेका बेला पुर्चौंडी नगरपालिका ५ कुवाकोटको एक विद्यालयमा अभिभावक भेला गरेको पाइएको छ । कोरोना कहरकैबीच विद्यालय व्यवस्थापन समिति गठन गर्ने भन्दै अभिभावक भेला गरिएको हो । 

दीपज्योती आधारभूत विद्यालय तालघुर्पेमा बिहीबार गरिएको भेलामा सहमति हुन नसकेपछि अभिभावकहरुबीच विवाद भएको भिडियो अहिले सामाजिक सञ्जालबाट बाहिर आएको छ । विद्यालयमा व्यवस्थापन समितिको म्याद सकिएको र नयाँ व्यवस्थापन समिति गठनका लागि भेला गरिएको भएपनि विवाद बढेपछि भीडभाड भएको विद्यालयका प्रधानाध्यापक तुलाधर पन्तले बताए । उनले भने ‘हामीले शुरुमा सामाजिक दुरी कायम गरेर सहमति विद्यालय व्यवस्थापन समिति गठन होला भनेर सोचेका थियौं । तर पछि विवाद भएपछि भीडभाड भएको हो ।’

Atrya hospital

विद्यालय व्यवस्थापन समितिको म्याद गएको असोजमै सकिएको भएपनि पुरानो समितिले विद्यालय मर्मत गरेको कामको फरफारक ढिला गरेकाले अहिले समिति गठन गर्न खोजिएको प्रधानाध्यापक पन्तले बताए । तर अभिभावकहरुबीच विवाद भएपछि समिति पनि गठन नभएको उनले बताए । 

विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौट भएको र सो कार्यक्रम सञ्चालन गर्न समिति गठन गर्न खोजिएको प्रधानाध्यापक पन्तको भनाई छ । सो भेलामा वडा अध्यक्ष नागीसिंह खडायतको समेत सहभागिता देखिएको छ । वडा कार्यालयले नै सूचना जारी गरेर भीडभाड कार्यक्रम नगर्न भनेको छ तर वडा अध्यक्ष आफू समेत सो भेलामा सहभागी भएका छन् । 

कोरोना भाईरसको संक्रमण तीव्र रुपमा फैलिएको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेका बेला भईरहेका यस्ता भीडभाडले कोरोनाको जोखिम झन् बढाएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । 

यता पुर्चौंडी नगरपालिकाका उपप्रमुख जानकी ऐर बमले विद्यालयमा भेला गर्ने बारे नगरपालिकालाई जानकारी नगराएको बताइन् । यो बिषयमा विद्यालयका प्रधानाध्यापकलाई स्पष्टीकरण सोधिने उनले बताइन् । उनले भनिन् ‘हामीले अहिले भीडभाड हुने खालका सबै कार्यक्रम स्थगित गर्न भनेका छौं । दीपज्योती विद्यालयमा अभिभावक भेला भएको कुरा बाहिर आएको छ । यो बिषयमा बुझेर स्पष्टीकरण सोध्छौं ।’

 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update