Sagun Khabar
पञ्चेश्वर जिप दुर्घटना :मृतकका परिवारलाई क्षतिपूर्ती दिनुपर्ने माग 

बैतडी-बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं ६ मा मंगलबार भएको दुर्घटनाका पीडित परिवारलाई राज्यले क्षतिपूर्ती दिनुपर्ने आवाज उठेको छ । सोमबार चट्याङ लागेर मृत्यु भएका वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोष्टमार्टमका लागि ल्याउँदै गर्दा भएको जिप दुर्घटनामा चालक सहित ६ जनाको ज्यान गएको थियो । 

शवको पोष्टमार्टम नगर्न भनेपनि प्रशासन र जनप्रतिनिधिको दबाब पोष्टमार्टम गर्न भनेकाले यस्तो दुर्घटना भोग्नुपरेको स्थानीयहरुले आरोप लगाएका छन् । सो घटनामा एकै गाउँका ६ जनाको अकल्पनीय निधन भएकाले मृतकका परिवारलाई राज्यले उचित क्षतिपूर्ती दिनुपर्ने बैतडीका स्थानीय युवा खेम साउँदले बताए । उनले भने ‘यो घटनाका राज्यकै कारणले भएको छ । दुर्घटनामा परेर आफ्ना आफन्त गुमाएकाहरुका लागि राज्यले उचित क्षतिपूर्ती दिनुपर्दछ ।’

Atrya hospital

पोष्टमार्टमका लागि शव लैजाँदै गर्दा थप ६ जनाको ज्यान जानु निकै दुखद भएको र यसमा सरकारले क्षतिपूर्ती दिनुपर्ने नागार्जुन मावि शर्मालीका प्रधानाध्यापक महामलसिंह साउँदले आग्रह गरे । 

शवको परीक्षणमा खटिएका स्थानीय सरकारी काममा खटिए सरह भएकाले पीडितका परिवारलाई उचित क्षतिपूर्ती दिनुपर्नेमा उनले जोड दिए । उनले भने ‘ प्राकृतिक विपत्तीका कारण मृत्यु भएकाको शव परीक्षणका लागि खटिँदा एकै गाउँका ६ जनाको दुखद निधन भएको छ । यसका लागि राज्यले उचित क्षतिपूर्ती दिनुपर्दछ ।’

दुर्घटनामा परी दिवंगत भएकाहरुको घरपरिवारको पालनपोषण, बालबालिकाहरुको शिक्षा दिक्षाका लागि राज्यले जिम्मा लिनुपर्ने साउँदले बताए । 

सरकारी पक्षकै कमजोरीका कारण मंगलबारको घटना भएकाले पीडित परिवारलाई उचित क्षतिपूर्ती दिनुपर्ने नेपाली कांग्रेसका क्षेत्रीय सभापति तेजबहादुर चन्दले बताए । 

यो बिषयमा पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले पीडित परिवारको राहतका लागि आफूले सक्दो पहल गर्ने बताए । उनले भने ‘कार्यपालिकाको बैठकबाट मृतकका परिवारलाई राहत पुग्ने गरेर क्षतिपूर्ती दिने निर्णय गर्दछौं । मृतकका परिवारलाई रोजगार मिल्ने गरेर केही कार्यक्रम ल्याउँछौं ।’ 

प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update