जिल्ला अस्पताल बैतडीले विभिन्न अभावका बीच कोभीडका बिरामीहरुलाई सेवा दिईरहेको जनाएको छ । ८ बेडको मात्रै आइसोलेसन कक्ष भएको अस्पतालमा चार बेड थप्ने तयारी गरिएको अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए ।
अस्पतालमा सीमित जनशक्ति, सीमित भौतिक पूर्वाधार, सीमित उपकरणका बीचबाट कोभीडका बिरामीहरुलाई सेवा दिईरहेको उनले सुनाए । उनले भने ‘जिल्ला अस्पतालमा विभिन्न अभावहरु छन् । ती अभावका बीचबाट हामीले कोभीडका बिरामीहरुलाई सेवा दिईरहेका छौं ।’
अस्पतालमा कोभीडका बिरामी दिनानुदिन बढ्दै गईरहेका डा. जोशीले बताए । उनले भने ‘स्वास्थ्यमा जटील खालका समस्या आएका बिरामीहरु पनि आउन थालेका छन् । तर स्वास्थ्यमा समान्य समस्या आउँदा नै हाम्रो सम्पर्कमा आउनोस भन्न चहान्छु ।’
जिल्ला अस्पतालमा अक्सिजनको समेत अभाव हुन थालेको डा. जोशीले बताए । कसैसंग अक्सिजनको खाली अथवा भरेको सिलिण्डर भए अस्पताललाई उपलब्ध गराउन उनले आग्रह गरे । उनले भने ‘अहिले अस्पतालमा अक्सिजनको अभाव हुन थालेको छ । अक्सिजन आवश्यक पर्ने बिरामीहरुको संख्या बढ्दै गएको छ । त्यसैले कसैसंग अक्सिजनको सिलिण्डर भएमा अस्पतालमा पुर्याउन आग्रह गर्दछु ।’
जिल्ला अस्पताल बैतडीमा अहिले ५ जना संक्रमितको अक्सिजन सपोटमा उपचार भईरहेको डा. जोशीले बताए । अक्सिजन आवश्यक पर्ने बिरामीको संख्या बढ्न सक्ने उनले बताए ।