Sagun Khabar
वडा सदस्य भण्डारी सहित जिप दुर्घटनामा मृत्यु भएका सात जनाको सामूहिक अन्त्येष्टी 

बैतडी –बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं ६ मा जिप दुर्घटना हुँदा ज्यान गुमाएका ६ जना र चट्याङ लागेर सोमबार मृत्यु भएका वडा सदस्य गोविन्दसिंह भण्डारी सहित सात जनाको सामूहिक अन्त्येष्टी गरिएको छ । 

बुधबार जिल्ला अस्पतालमा शव पोष्टमार्टम पछि सबैको सामूहिक दाहसंस्कार गरिएको पञ्चेश्वर गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष रामसिंह पुजाराले जानकारी दिए । 

Atrya hospital

वडा सदस्य भण्डारीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा जिप दुर्घटनामा परेर चालक सहित मंगलबार ६ जनाको मृत्यु भएको थियो । चार जनाको घटनास्थलमै र दुईजनाको अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

वडा सदस्य भण्डारीका सहोदर दाजु ५० बर्षीय जीतसिंह भण्डारी सहित ३० बर्षीय डम्मरसिंह भण्डारी, २७ बर्षीय हिम्मत भण्डारी र  ४० बर्षीय दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको थियो । 

यस्तै चालक तेजबहादुर बोहरा र स्थानीय ५० बर्षीय खेमसिंह भण्डारीको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो । 

जिप दुर्घटनामा परी मृत्यु भएका ६ जना र चट्याङ लागेर मृत्यु भएका वडा सदस्य भण्डारी सहित सात जनाको बुधबार दशरथचन्द नगरपालिका १० मौराकाठा महाकाली किनारमा सामूहिक रुपमा अन्तिम दाहसंस्कार गरिएको हो ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update