Sagun Khabar
बैतडी जिप दुर्घटना : मृतकको संख्या ५ पुग्यो 

बैतडी –बैतडीको पञ्चेश्वरमा मंगलबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । ४ जनाको घटनास्थलमै र एकजनाको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।

सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका वडा नं ६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोष्टमार्टमका लागि ल्याउँदै गरेको से १ ज १८३ नम्बरको जिप दुर्घटनामा परेको हो ।

Atrya hospital

जिप दुर्घटना हुँदा पञ्चेश्वर गाउँपालिका वडा नं ६ का ५० बर्षीय जीतसिंह भण्डारी, ३० बर्षीय डम्मरसिंह भण्डारी, २७ बर्षीय हिम्मत भण्डारी र  ४० बर्षीय दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

दुर्घटना परी घाइते भएका चालक तेजबहादुर बोहराको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको गाउँपालिका अध्यक्ष चन्दले बताए ।  दुर्घटनामा परी घाइते भएका ५ जनालाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको उनले बताए ।

घाइते हुनेमा सोही ठाउँका ३५ बर्षीय मोहनसिंह भण्डारी, ३० बर्षीय हरिसिंह भण्डारी,२८ बर्षीय मदनसिंह भण्डारी, ५० बर्षीय खेमसिंह भण्डारी, र २४ बर्षीय दिलिपसिंह भण्डारी रहेका छन ।

 जिप सडकबाट करीब ५सय मिटर तल खसेको बताइएको छ । साँघुरो घुम्तीमा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update