Sagun Khabar
अतिआवश्यक कामका लागि गाडीपास चाहिदैन् : जिल्ला प्रशासन बैतडी 

बैतडी –अतिआवश्यक कामका लागि गाडी पास नचाहिने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । जिल्लामा सोमबारदेखि निषेधाज्ञा जारी भएपछि गाडीपास लिनेको संख्या बढ्दै गएकाले अतिआवश्यक कामका लागि गाडी पास नचाहिने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । 

विवाह, खाद्यान्नका सामग्री ढुवानी गर्न, अस्पताल रेफर भएका बिरामीहरु बोक्न र समाचार संकलनका लागि गाडी पास आवश्यक नरहेको उनले बताए । उनले भने ‘अतिआवश्यक काममा गएका सवारी साधन कसैले रोक्दैन् । अतिआवश्यक कामको बारेमा सबैलाई थाहा छ । त्यसैले यसका लागि पास नचाहिने हामीले व्यवस्था गरेका छौं ।’

Atrya hospital

निषेधाज्ञा जारी गर्नुको उद्देश्य कोरोना ‘चेन ब्रेक’ गर्नु रहेकाले यसमा सबैले सहयोग गर्नुपर्नेमा उनले जोड दिए । उनले भने ‘निषेधाज्ञा कोरोनाको चेन ब्रेकका लागि हो । समुदायमा फैलिएको संक्रमण कम गर्नका लागि हो । हामीले नागरिकलाई दुःख दिन खोजेका होइनौं । त्यसैले आवश्यक काम बाहेक घर बाहिर ननिस्कन अनुरोध गर्दछु ।’

विवाहमा १५ जना मात्रै सहभागी हुन दिइने भएकाले गाडीमा त्यो भन्दा बढी नबोक्न पनि सूचना अधिकारी भारतीले आग्रह गरे । यस्तै जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा पूर्ण रुपमा पालना गर्न समेत उनले सुझाए ।

बैतडीमा जेठ २ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी रहेको छ । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  ०९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update